१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको कांग्रेस संस्थापनइतर समूहको निष्कर्ष

Shekhar koirala Gagan Thapa 1
फाइल फोटो

नेपाली कांग्रेसको संस्थापनइतर समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको निष्कर्ष निकालेको छ।

बत्तीसपुतलीस्थित एक होटलमा कांग्रेस नेता शेखर कोइराला समूहको बैठकले यस्तो निश्कर्ष निकालेको हो । बैठकमा सहभागी सांसद चन्द्र भण्डारीले कांग्रेसभित्र स्पष्ट दृष्टिकोण नभएको भन्दै पार्टी प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु कि भनेर हिँड्ने प्रवृत्ति नरोकिएको बताउनुभयो ।

बैठकमा अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने कुरा उठेको पनि भण्डारीले बताउनुभयो । बैठकमा सहभागी केही नेताहरुले कांग्रेस संसदीय दलमा आफ्नो समूहको मत एकीकृत हुन नसक्नुको कारण पनि खोजेका छन ।

दलको नेताको चुनावमा आफ्नो समूहका उम्मेदवार गगन थापाले समूहकै मत पनि नपाएको विषय उठाउँदै नेताहरूले त्यसको कारण खोजेका हुन् ।

बैठकमा एमाले नेतृत्वको गठबन्धन बनेसँगै फेरिएको राजनीतिक कोर्ष, आसन्न केन्द्रीय समिति बैठक, राष्ट्रपति, उपराष्ट्रपति चुनाव र रणनीतिबारे छलफल भइरहेको छ । बैठक मंगलबार बिहान फेरि बस्नेछ ।