
अमेरिकाको न्याय विभागले राष्ट्रपति जो बाइडेनको घरमा छापा मारी थप ६ वटा गोप्य दस्तावेज जफत गरेको छ ।
अनुसन्धानमा खटिएका वकिल बोब बाउरले राष्ट्रपतिको घरमा छापा मारेको पुष्टि गरेका हुन् ।
गत शुक्रबार डेलावेयरस्थित घरमा विभागले १३ घण्टा लगाएर खानतलासी गरेको थियो । त्यसक्रममा बाइडेन सिनेटर भएदेखि तत्कालीन राष्ट्रपति बाराक ओबामाको उपराष्ट्रपति हुँदासम्मका गोप्य दस्ताबेज भेटिएको जानकारी दिइएको छ । उक्त समयमा राष्ट्रपति बाइडेन र उनकी श्रीमती भने घरमा नभएको बताइएको छ ।
वकिल बाउरले व्यक्तिगत रुपमा हस्तलिखित कागजात र अन्य केही सामग्री जफत गरी लगिएको बताएका छन् ।
उनका अनुसार राष्ट्रपतिले उपराष्ट्रपति भएका बेलाका दस्तावेज र सम्भवत गोप्य सामग्रीको छानविनका लागि आफ्नो घरमा खानतलासी गर्न न्याय मन्त्रालयलाई अनुमति दिएका थिए ।
यस्तै अन्य केही दस्तावेज गत डिसेम्बर २० तथा जनवरी १२ पनि बरामद गरिएको थियो ।
बाइडेन सन् १९७३ देखि २००९ सम्म डेलावर क्षेत्रबाट सिनेटर भएका थिए भने २००९ देखि २०१७ सम्म ओबामा कालमा उपराष्ट्रपति बनेका थिए ।
राष्ट्रपति बाइडेनको घरमा छापा तथा दस्तावेज छानविनको घटना यस्तो बेला भइरहेको छ जब कि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँ गोपनीय दस्तावेज अवैध रुपले राखेको आरोपमा छानविनको सामना गरिरहेका छन् ।