१३ बैशाख २०८१, बिहीबार

वर्तमान सरकार : क्याप्टेन ओली, को-पाइलट प्रचण्ड !

oli prachanda
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै समर्थनमा प्रधानमन्त्री भएपनि पुष २६ गते विश्वासको मतमाग्दै गर्दा साना दुई दल (नेमकीपा र जनमोर्चा) बाहेक प्रमुख प्रतिपक्ष भनिएको नेपाली कांग्रेसलेसमेत विश्वासको मत दियो।

मन्त्रिपरिषद्‍ विस्तार गर्नुअघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले धेरै दिनसम्म मन्त्रिपरिषद्‍ विस्तारबारे छलफल गरे। हालको संघीय संसद्‍‌मा सहभागी ५ दलले तत्काल सरकारमा नजाने बताएपनि राष्ट्रपतिले प्रधानमन्त्रीको दाबीपेश गर्ने अन्तिम समयसीमा सकिदै गर्दा एमाले, स्वतन्त्र पार्टी, राप्रपालगायतका धेरै साना दलहरुले प्रचण्डलाई विभिन्न शर्तमा सहयोग गरे।

हिजोको मन्त्रिमण्डल विस्तारमा एमाले अध्यक्ष ओली हावी भएका छन्। अध्यक्ष ओली नेकपाकालिन अवस्थामा प्रधानमन्त्री रहँदा देखाएको माओवादीसँग एकताभएको पार्टि मिलाउन नसक्दाको पीडालगायत आफूले गर्न नसेकेका कामहरु अहिले प्रधानमन्त्री प्रचण्डबाट गराउन लागी परेका छन्। अध्यक्ष ओलीले गत निर्वाचनमा आफूलाई सहयोग गरेका र गरिरहने पार्टीलाई सरकारमा राम्रो मन्त्रालय दिएका छन् भने आफैं प्रधानमन्त्री रहेका प्रचण्डलाई प्रधानमन्त्रीबाहेक अन्य कुनै गतिलो मन्त्रालयसम्म लिन दिएका छैनन्।

ओलीले प्रचण्डले आफू प्रधानमन्त्री बन्न गरेको हतारोको राम्रो फाइदा उठाइरहेका छन्। हालको सत्ता गठबन्धनबाट सबैभन्दा बढी फाइदा उठाइरहेको एमालेले देशकै ठूला पद पनि आफ्नो कोल्टामा पार्ने भइसकेको छ। सत्ता गठबन्धनमा एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति बनिसक्दा अन्य मुख्य राजनीतिक नियुक्तिहरुमा पनि ओलीकै ठूलो हात हुनेछ।

हाल सत्ता गठबन्धनको ठूलो दल रहेको एमालेले भनेअनुरुप नचले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पद जोगाउन गार्हो हुन्छ। सरकार गठनका लागि दलहरुलाई जुटाउनेदेखि मन्त्रिमण्डल बिस्तारसम्म ओलीकै सक्रियता भएको हुदाँ उनको योजनाअनुरुप प्रचण्डले चलिरहनुपरेको छ।

हाल प्रचण्डलाई प्रधानमन्त्री पद निल्नु न ओकल्नु भएको कतिपय राजनीतिक विश्लेषकहरुको टिप्पणी छ।