४ जेष्ठ २०८१, शुक्रबार

राजकीय पद हात पार्नेतर्फ केन्द्रित नेपाली कांग्रेसको ध्यान !

kursi

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि आलोचना खेपिरहेको नेपाली कांग्रेसको ध्यान राजकीय पद हात पार्नेतर्फ केन्द्रित छ ।

गठबन्धन जोगाउन नसकेपछि संघमा मात्र होइन, सातै प्रदेशमा सत्ताबाहिर पुगेको कांग्रेसले राष्ट्रपति र सभामुखमध्ये कम्तीमा एउटा पद हात पार्न खोजेको छ । त्यसका लागि कि अहिलेको गठबन्धन भत्काउनुपर्छ नभए शक्ति सन्तुलनको यथार्थता बुझाएर गठबन्धन दललाई सहमतिमा ल्याउन सक्नुपर्छ । तर अहिले कांग्रेसका लागि यी दुवै विकल्प सहज देखिँदैन ।

राष्ट्रपति आफूले पाउनुपर्ने कांग्रेसको माग

कांग्रेसले राष्ट्रपति वा सभामुखमध्ये कम्तीमा एक पद हात पार्ने मनसायका साथ प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो । त्यसैका लागि कांग्रेसका नेताहरूले माओवादीका नेताहरूसँग पटक पटक छलफल गरेका छन् ।

विशेषगरी राष्ट्रपति आफूले पाउनुपर्ने माग कांग्रेसको छ । तर अहिलेको सत्ता गठबन्धन एकै ठाउँमा रहे कांग्रेसका लागि त्यो सहज छैन । किनकि प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यको मतभार हेर्दा गठबन्धन दलको स्पष्ट बहुमत छ ।

कांग्रेसले राष्ट्रपति वा सभामुख पाउन एमाले र माओवादी केन्द्रमध्ये एक दलसँग सहकार्य गर्न अनिवार्य छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको मतभार एक जनाको ७९ रहन्छ भने प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ ।

प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाको मतभार हेर्दा कांग्रेसको १६ हजार २ सय २१ छ । नेकपा एमालेको १५ हजार २ सय ६४ छ भने माओवादी केन्द्रको ८ हजार ८१ छ । एकीकृत समाजवादीको २५ सय ७४ छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको २४ सय २ छ । यो हेर्दा कुनै पनि दलले आफ्नो मतले मात्र राष्ट्रपतिमा जित्ने आधार देखिँदैन । संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा राष्ट्रपति पाउनुपर्ने दाबी कांग्रेसको छ ।

सभामुखको चुनाव माघ ५ गते हुँदै छ । माघ अन्तिम साता राष्ट्रपति चयन गर्ने तयारी छ । मुलुकको राजनीति अहिले राष्ट्रपति र सभामुखको निर्वाचन वरिपरि नै केन्द्रित छ । तर अहिलेकै गठबन्धन कायम रहेमा कांग्रेसलाई कुनै पनि राजकीय पद पाउन त्यति सहज छैन ।