२२ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीमाथि बहुमतको विश्वास छ भनेर देखाउनु पर्ने छ, यो सरकारलाई सफल बनाउनुपर्छ : ओली

kp oli

सत्ता गठबन्धन दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सफल बनाउन सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा शनिबार एमालेबाट नवनिर्वाचित सांसद्को अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले २५ र २६ गते एक मिनेट ढिला नगरी संसद्का उपस्थित हुन निर्देशन दिए ।

पुस २५ गते प्रतिनिधिसभाको पहिलो बैठक आह्वान गरिएको छ भने २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदै छन् ।

‘अहिले पहिलो कुरा हामीले २६ गते प्रधानमन्त्रीमाथि बहुमतको विश्वास छ भनेर देखाउनु पर्ने छ । २५ गते प्रतिनिधिसभाको पहिलो बैठक छ । २५ र २६ गते संसद्मा उपस्थित हुन एक मिनेट पनि ढिला नगर्नू ।’ उनले भने, ‘यो हामीले जबरजस्ती बनाएको सरकार हो यसलाई सफल सरकार बनाउन चाहन्छौं ।’

कार्यक्रममा उनले सांसद्हरूलाई शिष्ट र सभ्य भएर उपस्थित हुन आग्रह गरे । उनले भने, ‘म प्रधानमन्त्री भइरहेको बेला नेपाली कांग्रेसका एक सांसदले केपी ओलीलाई गोली हानेर मार्नुपर्छ । बाच्नै दिनुहुँदैन । कोही केपी ओलीलाई गोली हान्छ भने कति पैसा चाहिन्छ म दिन्छु, भनेका थिए । तर नेकपा एमालेले त्यस ढंगले बोल्नु हुँदैन । हामी सबै हिसाबले सन्तुलित त सभ्य भएर बोल्नुपर्छ । लभगभ कांग्रेसको डेमोक्रेसी त्यस्तै हो । लगभग संसद्मा पनि त्यसरी नै बोल्न सक्छ ।’

कांग्रेसको सरकार ढलाउने प्रयास असफल पार्नुपर्ने बताउँदै उनले संसद्लाई टाउकाको अंक गणित र फोहोरी खेल खेल्ने ठाउँ नबाउन सांसद्हरुलाई सतर्क गराए ।