६ जेष्ठ २०८१, आईतवार

प्रचण्डले नेपाललाई भने- विश्वासको मत दिनुहोला

prachanda lMadhav Nepal

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

माओवादी संसदीय दलको कार्यालयमा बुधबार दाहाल-नेपाल भेट भएको हो । भेटवार्तामा प्रधानमन्त्री दाहालले अध्यक्ष नेपाललाई विश्वासको मत आफूलाई दिनका लागि आग्रह गरेका छन् ।

दाहालले सरकारलाई विश्वासको मत दिन गरेको आग्रहको प्रत्युत्तरमा नेपालले पार्टीभित्र छलफल गरेर मात्रै टुंगोमा पुग्न सकिने जवाफ दिए ।

भेटपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालसँग वामपन्थी पार्टीहरुबीचको एकताबारे भने छलफल नभएको जनाए । अध्यक्ष नेपालले भने, ‘उहाँले विश्वासको मत दिनुपर्‍यो भनेर माग गर्नुभएको छ । हामी यसबारे पार्टीमा छलफल गर्छौं । र, टुंगो लगाउँछौं । सरकारमा जानेबारेमा केही पनि कुरा भएको छैन । खाली विश्वासको मतका बारेमा कुरा भएको छ । वाम पार्टीहरुको एकताको विषयमा विषय प्रवेश नै गरिएन ।’

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सरकारमा जाने बेलामा आफूसँग छलफलसमेत नगरेको भन्दै नेपालले गुनासो गर्दै आएका छन् ।