१५ बैशाख २०८१, शनिबार

अहिलेको सरकार काम गर्नेभन्दा देखाउने कुरामा मात्रै बढी अग्रसर: प्रवक्ता महत

prakash saran mahat
फाइल फोटो

नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनको आयु लामो नरहेको जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले वर्तमान गठबन्धन पदीय चाहनामा मात्रै सीमित रहेको दाबी गरे । वर्तमान गठबन्धनमा राजावादीदेखि गणतन्त्र नै ठीक हो र संघीयता विरोधीदेखि संघीयता आवश्यक छ भन्नेसम्मको सहभागी भएकाले यो गठबन्धन लामो समय नटिक्ने उनले बताए । नेपाली कांग्रेसले गठबन्धन नटुटाएको र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले नै तत्कालीन गठबन्धन तोडेको उनको आरोप छ । उनले अहिलेको गठबन्धनबाट आउने परिणामबारे सचेत रहन पनि सबैलाई आग्रह गरे ।

दाहालले गठबन्धन तोडेपछि कांग्रेस सन्तुष्ट नरहेको पनि प्रवक्ता महतको भनाइ छ । उनले कांग्रेसलाई नयाँ नेतृत्वको विकल्प माओवादी अध्यक्ष दाहाललाई दिनुपर्छ भन्नेसम्मको समय पनि प्राप्त नभएको जनाए । महतले वर्तमान गठबन्धन सरकारलाई अवसर केन्द्रित गठबन्धनको संज्ञा दिए । वर्तमान गठबन्धनमा पदीय चाहनाबाहेक विचार, दृष्टिकोणमा एकता नरहेको उनको आरोप छ । उनले अहिलेको सरकार काम गर्नेभन्दा देखाउने कुरामा मात्रै बढी अग्रसर रहेको आरोप पनि लगाए । प्रवक्ता महतले जनमतका आधारमा नेतृत्व नहुने परिवेश सिर्जना भएको भन्दै आगामी दिनमा यसको गम्भीर छलफल हुनुपर्ने बताए ।

उनले भने, ‘प्रचण्डजी किन गठबन्धनलाई छोडेर नेतृत्व प्राप्तिका लागि जानुभयो, यो विषय आगामी दिनमा विस्तारै विश्लेषण भइरहेको छ । यसबाट आउने परिणाम र यसले पार्ने असरका बारेमा मूल्यांकन भइरहेको छ । नेपाली कांग्रेस कतै विचलित भएको छैन । हामीले गठबन्धनलाई नै निरन्तरता दिने कोसिस गरेका थियौँ । हामी वैकल्पिक शक्ति जुटाएर नेतृत्व लिनेतिर पनि प्राथमिकता दिएनौँ । गठबन्धन टुट्नु र प्रचण्डजीले छाडेर जानुमा कांग्रेस पार्टी खुसी छैन ।’

प्रवक्ता महतले आगामी दिनमा कांग्रेस सशक्त प्रतिपक्षका रुपमा संसद्‌मा प्रस्तुत हुने प्रतिबद्धता पनि जनाए । उनले कांग्रेस प्रतिपक्षमा रहुन्जेलसम्म सशक्त प्रतिपक्षका रुपमा विकास, रोजगारी, सुशासनका विषयलाई उजागर गर्ने बताए । आगामी दिनमा पार्टी संगठन विस्तार, पार्टीमा एकता, व्यक्तिकेन्द्रित नभइ विषय, लक्ष्य केन्द्रित भएर काम गर्नेमा लाग्ने पनि उनले बताए । उनले पार्टी सभापति शेरबहादुर देउवाको विरोध गर्नेहरुले नै कांग्रेसको नेतृत्वमै सरकार बन्नुपर्ने र राष्ट्रपति पनि कांग्रेसले नै राख्नुपर्ने माग गरेकाले अहिले अनर्गल प्रचार गर्न नमिल्ने दाबी गरे । कांग्रेसले पुस २८ गते १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको पनि प्रवक्ता महतले जनाए ।