३० बैशाख २०८१, आईतवार

एक वर्षमा दुई खर्ब ८४ अर्बले बढ्यो मुलुकको ऋण

ministry of finance nepal ghatana

वैदेशिक मुद्रा सञ्चितिसँगै राजस्व घटेर ऋण तिर्ने क्षमता घटिरहेकै बेला मुलुकको ऋण एक वर्षमा दुई खर्ब ८४ अर्बले बढेको छ । देशमा संकलित राजस्व कर्मचारीको तलब भत्तालगायत अन्य चालु खर्चमा सीमित हुने र विकासमा दाताको अनुदान र ऋणमा भर पर्दा वैदेशिक ऋण बढ्दै गएको देखिएको हो ।

अर्थ मन्त्रालयका अनुसार गत वर्षको असोजसम्म १७ खर्ब २३ अर्ब रहेको ऋण अहिले १६ प्रतिशतले बढेर २० खर्ब ७ अर्ब पुगेको छ । कुल गार्हस्थ उत्पादनको तुलनामा ऋण ४१ प्रतिशत पुगेको छ । गत वर्षको असोजसम्म ९ खर्ब ४९ अर्ब रहेको बाहृय ऋण अहिले १ खर्बले बढेर १० खर्ब ५० अर्ब पुगेको छ । यता बाहृय ऋणको तुलनामा आन्तरिक ऋण झनै बढेको देखिएको छ । गत वर्षको असोजसम्म ७ खर्ब ७३ अर्ब रहेको आन्तरिक ऋण अहिले ९ खर्ब ५७ अर्ब पुगेको छ । राजस्वले चालु खाता धान्न नसक्ने र असारको तुलनामा ८४ करोड अमेरिकी डलर विदेशी विनिमय सञ्चिति घटेका बेला अब सरकारले ऋण बढाउन नहुने बिज्ञको सुझाव छ ।

कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० लाई नेपालको सार्वजनिक ऋण भाग लगाउने हो भने अहिले एक व्यक्तिलाई ६८ हजार ७ सय ७९ रुपैयाँ पुगेको छ । जुन गत वर्ष ५९ हजार ५ सय २३ थियो । पाँच वर्षअघि भने मुलुकको कुल ऋण १० खर्ब ४७ अर्ब मात्रै थियो । पाँच वर्षमा झन्डै दोब्बरले बढेको आन्तरिक ऋण अनुत्पादक क्षेत्रमा खर्च भएको छ भने विदेशी ऋण लिएर अघि बढाइएका आयोजना पनि प्रभावकारी नभएका कारण ऋण बढ्दा पनि अर्थतन्त्रमा खासै योगदान पुग्न सकेको छैन ।

    सम्बन्धित समाचार...