२१ बैशाख २०८१, शुक्रबार

म्याच फिक्सिङ बारे गृह मन्त्रालयको चासो, छानबिन गर्न प्रहरीलाई पत्र

rabi
फाइल फोटो

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाल टी– ट्वान्टी लिगमा भएको म्याच फिक्सिङका बारेमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन् । खेलाडीले पारिश्रमिक नपाएको र म्याचफिक्सिङको चर्चा बाहिरिएसँगै उनले प्रहरी प्रधान कार्यालयलाई छानबिन गर्न पत्रचार गरेका हुन् ।

गृहमन्त्री लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार जारी नेपाल टी–ट्वाटी लिगमा म्याच फिक्सिङ भएका समाचार आएसँगै अनुसन्धान गर्न गृहमन्त्रालयले प्रहरीलाई पत्र पठाएको हो । ‘आज बिहानदेखि नै म्याचफिक्सिङको समाचार आइरहेको छ । यसबारेमा छानबिन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो,’ उनले भने, ‘ पत्रमा आयोजकाले पारिश्रमिक नदिएको विषयमा पनि छानबिन गर्नू भनिएको छ ।’

कीतिपुरस्थित त्रिवि खेल मैदानमा मंगलबारको पहिलो खेल करिब दुई घण्टा ढिलो भएको थियो । काठमाडौं नाइट्स र विराटनगर सुपर किंगका खेलाडीले पारिश्रमिक नपाएको भन्दै प्राविधिक टोलीसमक्ष टिम लिस्ट लिन माननेन् । दुवै टोलीका मालिकले पारिश्रमिक दिने आश्वासन दिएपछि खेल सुरुभएको थियो ।

यसैबीच जारी लिगमा कमेन्टेटरको भूमिकामा आबद्ध सचिन तिमल्सेना म्याच फिक्सिङको शंका लागेसँगै जिम्मेवारीबाट मुक्त भएका छन् । त्यससँगै यस विवाद सतहमा आएको थियो । खेलपछि पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमको एक खेलाडीलाई पनि म्याच फिक्सिङको प्रस्ताव आएको बताएका छन् ।