१५ बैशाख २०८१, शनिबार

सरकारमा सहभागी हुने/नहुने निर्णय सरकारको नीति तथा कार्यक्रम हेरेर गर्छौं : जसपा

jasapa

जनता समाजवादी पार्टी (जसपा) ले सरकारको नीति तथा कार्यक्रम हेरेर सरकारमा सहभागी हुने/नहुने भन्ने विषयमा निर्णय गर्ने भएको छ ।

ललितपुरमा सोमबार र मंगलबार चलेको राजनीतिक समितिको बैठकमा जसपा सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा पर्ख र हेरको अवस्थामा रहेको जनाएको छ । तर, आफ्नै समर्थनमा सरकार बनेकाले विश्वासको मत भने दिने जसपाका प्रवक्ता मनीष सुमनले कान्तिपुर टीभीलाई जानकारी दिए । उनका अनुसार जसपाले सरकारको नीति तथा कार्यक्रमका साथै शक्ति बाँडफाँडका आधारमा सहभागी हुने अन्यथा बाहिरबाटै समर्थन गर्नेछ ।

प्रवक्ता सुमनका अनुसार जसपाले अन्य पार्टीसँग एकता तथा एकीकरण गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीको संयोजकमा राजेन्द्र श्रेष्ठलाई छानिएको पनि सुमनले जानकारी दिए । उनका अनुसार सदस्यमा रकम चेम्जोङ र गोविन्द चौधरी छानिएका छन् ।

यस्तै बैठकले माघ मसान्तभित्र पार्टीका निष्क्रिय संगठनहरूलाई क्रियाशील बनाउने निर्णय पनि गरेको छ । साथै निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, अन्तरघात गर्ने नेताहरुलाई सम्बन्धित समितिले विधानअनुसार कारबाही गर्ने पनि निर्णय गरेको प्रवक्ता सुमनले जनाए । साथै संघीय परिषद् र केन्द्रीय समितिका सदस्यहरूका हकमा भने जाँचबुझ/छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन शिवलाल थापामगरको संयोजकत्वमा पाँच सदस्यी समिति बनाइएको छ । समितिमा देवबहादुर दुरा, बालकिशोर यादव, अशोक लगरवार र प्रमिला यादव सदस्य छन् । यो समितिले छानबिन गरी माघ मसान्तभित्र प्रतिवेदन बुझाउनेछ । यस्तै जसपाले पार्टी विधान अधिवेशनका लागि मस्यौदा बनाउन ‘विधान मस्यौदा समिति’ पनि गठन गरेको छ ।

बैठकको पहिलो दिन अर्थात् सोमबार जसपाका राजनीतिक समिति सदस्यहरूले नेकपा एमालेसँग गरिएको चुनावी तालमेलको आलोचना गरेका थिए । अन्तिम समयमा नेकपा एमालेसँग तालमेल गरी चुनाव लड्ने निर्णय गरेकामा सदस्यहरूले नेतृत्वको आलोचना गरेका थिए । केहीले भने कांग्रेस नेतृत्वको गठबन्धनबाट अलग्गिएर एमालेसँग तालमेल गर्नु पार्टीको बाध्यता भन्दै नेतृत्वको बचाउसमेत गरेका थिए ।

    सम्बन्धित समाचार...