१५ चैत्र २०८०, बिहीबार

रुसले ड्रोन आक्रमण अभियान चलाएर युक्रेनलाई निरुत्साहित गर्न खोज्यो : जेलेन्स्की

Volodymyr Zelenskyy
फाइल फोटो

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ड्रोन आक्रमणको लामो अभियान सञ्चालन गरेर युक्रेनलाई निरुत्साहित बनाउने योजना बनाइरहेको आरोप लगाएका छन् ।

आफ्नो रात्रिकालीन सम्बोधनमा जेलेन्स्कीले मस्कोले इरान निर्मित शाहेद ड्रोनमार्फत यस्तो आक्रमणको तयारी गरेको गुप्तचरी सूचना आफूले पाएको बताएका हुन् । पूर्वी डोनेत्स्क क्षेत्रमा युक्रेनी आक्रमणबाट सयौं रुसी सैनिक मारिएको घटनापछि जेलेन्स्कीले यस्तो बताएका हुन् । जेलेन्स्कीले युक्रेनी हवाई रक्षा फौजले नयाँ वर्ष सुरु भएयता मात्रै ८० भन्दा बढी इरानी ड्रोन गोली हानेर खसालेको बताएका छन् ।

यसैबीच युक्रेनले डोनेत्स्क क्षेत्रमा गरिएको आक्रमणमा रुसका करिब चार सय सैनिक मारिएको दाबी गरिरहँदा मस्कोले भने आफ्नातर्फ ६३ सैनिक मारिएको जनाएको छ । यु्द्धमा आफ्नो सेनातर्फ भएको क्षतिबारे रुसले गरेको यो अत्यधिक विलक्षण स्वीकारोक्ति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् । उक्त घटनापछि रुसभित्र पनि आफनो सेनाको चर्को आलोचना भएको अल जजिराले उल्लेख गरेको छ । केही रुसी राष्ट्रवादी तथा सांसदहरुले सावधानी अपनाउन नसकेको भन्दै उक्त घटनाका लागि रुसी कमान्डरहरुलाई सजायभागी बनाइनुपर्ने माग गरेका छन् ।

डिसेम्बर ३१ मा युक्रेनी सेनाले डोनेत्सको माकिभ्का सहरस्थित एउटा प्राविधिक शिक्षालय भवनमा गरेको क्षेप्यास्त्र आक्रमणमा रुसी सेनातर्फ यति ठूलो हताहती भएको हो । रुसी सेनाले उक्त शिक्षालयलाई अस्थायी ब्यारेकका रुपमा प्रयोग गर्दै आएको थियो ।