२२ बैशाख २०८१, शनिबार

छैटौंपटक इजरायलको प्रधानमन्त्री बने नेतन्याहु

Benjamin Netanyahu scaled

बीबी उपनामले चर्चित तथा खारिएका राजनीतिज्ञ बेन्जामिन नेतन्याहुले छैटौंपटक इजरायलको प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् ।

संसद्‌का १२० सदस्यमध्ये ६३ जनाले नयाँ सरकारको पक्षमा विश्वासको मत दिएपछि ७३ वर्षीय नेतन्याहुले संसद्सामु प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका हुन् । विपक्षमा ५४ मत खसेको थियो । इतिहासकै चरम दक्षिणपन्थी तथा धार्मिक रुपमा कट्टर गठबन्धन सरकारको नेतृत्व गर्दै उनको सत्तामा पुनरागमन भएको हो । नयाँ सरकारको आगमनसँगै प्यालेस्टाइनीका साथसाथै इजरायलका वामपन्थीहरुमाझ एक किसिमको त्रास फैलिएको अल जजिराले टिप्पणी गरेको छ ।

यसअघि नेतन्याहु सन् १९९६ देखि १९९९ र २००९ देखि २०२१ को अवधिमा विभिन्नपटक प्रधानमन्त्री पदमा आसिन भएका थिए । मतदानअघि संसद्‌लाई सम्बोधन गर्दै नेतन्याहुले अरब- इजरायली द्वन्द्व अन्त्य गर्नु, इरानको परमाणु कार्यक्रम रोक्नु र इजरायली सेनाको क्षमता अभिवृद्धि गर्नु आफ्नो सरकारको उच्च प्राथमिकता हुने बताएका थिए ।

गत नोभेम्बर एकमा भएको संसदीय निर्वाचनमा नेतन्याहु गठबन्धनको विजयले लामो समयदेखि जारी राजनीतिक अस्थिरताको अन्त्य गर्ने अपेक्षा गरिएको छ । चार वर्षभन्दा कमको अवधिमा इजरायलमा गरिएको यो पाँचौं संसदीय निर्वाचन थियो । नेतन्याहु स्वयंविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन छ ।

    सम्बन्धित समाचार...