१६ बैशाख २०८१, आईतवार

सुकीलाई थप ७ वर्ष जेल सजाय

Aang Sang Suki large

म्यानमारको सैनिक अदालतले त्यहाँकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप ७ वर्षको जेल सजाय सुनाएको छ । यससँगै उनको कुल जेल सजाय अवधि ३३ वर्ष पुगेको छ ।

प्रजातन्त्रिक सरकार सेनाले अपदस्थ गरेसँगै नेतृ सुकी २०२१ देखि नजरबन्दमा थिइन् । त्यसयता उनीविरुद्ध १८ महिनामा १९ वटा आरोपमा मुद्दा चलाइएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गत हप्ता मात्रै उनको रिहाइको माग गरेको थियो । उनलाई पछिल्ला पाँच अभियोगमा शुक्रबार थप सजाय सुनाइएको हो ।

सरकारी मन्त्रीका लागि हेलिकप्टर भाडामा लिँदा नियम पालना नगरेको भन्दै अदालतले उनलाई भ्रष्टाचार गरेको ठहर गरेको थियो । सुकी यसअघि नै १४ विभिन्न मुद्दामा दोषी ठहर भइसकेकी छन् ।

उनी माथि कोभिड सुरक्षा नियमहरूको उल्लंघन, वाकी-टकीहरूको आयात र आधिकारिक गोप्य कानुनको मिचेको लगायतका आरोप लगाइएको छ ।

यसपटक उनको मुद्दाको सुनुवाइमा बन्द कोठामा भएको थियो । जहाँ जनता र मिडियाको पहुँचमा प्रतिबन्ध लगाइएको थियो । उनीहरूका वकिलहरूलाई पत्रकारहरूसँग बोल्नसमेत प्रतिबन्ध लगाइएको थियो ।

सुकीले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएकी छन् । ७७ वर्षीया उनी नोबेल शान्ती पुरस्कार विजेता पनि हुन् ।