१३ बैशाख २०८१, बिहीबार

छब्बीस वर्षको जेल सजाय भ्रष्टाचार अभियोगमा सुचीलाई

suki

सेना शासित म्यान्माको एक अदालतले अपदस्थ नेत्री आङ सान सुचीलाई थप दुई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । अब उहाँलाई दुई तीन वर्षको जेल सजाय एकैसाथ हुनेछ । पहिलेको सुनाइएको सजायमा यो थपिएको हो । अब सुनाइएको निर्णयअनुसार नेत्री सुचीलाई २६ वर्षको जेल तोकिएको छ ।

सतहत्तर वर्षीया सुचीलाई गत वर्षको फेब्रुअरी १ मा सेनाले उहाँको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि हिरासतमा राखेको थियो । उहाँले आफूमाथि लगाइएका आरोपको अस्वीकार गर्नुभएको छ ।

नेत्री सुचीमाथि लागुऔषध तस्करीको अभियोगमा दोषी ठहरिएका कुख्यात माउङ वेइकबाट पाँच लाख ५० हजार अमेरिकी डलर घुस लिएको आरोप लगाइएको थियो ।

सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता नेत्री सुचीविरुद्ध सेनाले लगाएका धेरै आरोपमा भ्रष्टाचारका मुद्दा सबैभन्दा बढी छन् । नेत्री सुचीलाई भ्रष्टाचार विरोधी ऐन अन्तर्गत जम्मा १२ वटा मुद्दा लगाइएको छ जसमा प्रत्येकलाई १५ वर्षसम्मको जेल सजाय र जरिवाना हुनसक्छ ।

उहाँलाई अवैध रूपमा वाकी–टकीहरू आयात गरेर राखेको, कोरोनाभाइरसविरुद्धका प्रतिबन्धहरू उल्लङ्घन गरेको, देशको गोप्य ऐन उल्लङ्घन गरेको, देशद्रोह गरेको, चुनावमा ठगी गरेको तथा भ्रष्टाचारका पाँच आरोपमा दोषी ठह¥याएपछि २३ वर्षको जेल सजाय सुनाइएको थियो ।

नेत्री सुचीका समर्थकहरू र स्वतन्त्र विश्लेषकहरूले ती आरोप राजनीतिक रूपमा प्रेरित रहेका र उहाँलाई बदनाम गर्ने तथा सेनाको सत्ता कब्जालाई वैधानिक बनाउने प्रयास भएको बताएका छन् । आगामी वर्ष हुने निर्वाचनमा उहाँलाई भाग लिनबाट रोक्ने प्रयासमा सेनाले ती आरोप लगाएको उनीहरूको कथन छ ।

नेत्री सुचीविरुद्धका मुद्दाको सुनवाइ राजधानी नेपिटोको बाहिरी भागमा अवस्थित मुख्य कारागारको एउटा कोठामा भएको छ । उहाँलाई हिरासतमा लिइएदेखि सार्वजनिक रूपमा बोल्न वा भेटघाट गर्न दिइएको छैन । उहाँका वकिलहरूलाई पनि मुद्दाका बारेमा सार्वजनिक रूपमा बोल्न अनुमति दिइएको छैन ।