२२ बैशाख २०८१, शनिबार

विश्वफुटबलका महान खेलाडी पेलेको निधन

322381503 1243145873215780 5436832526423639393 n

विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा बिहीवार राति ब्राजिलको आओ पाउलोमा निधन भएको छ।

अल्बर्ट आइन्सटाइन अस्पतालले पेलेको निधन भएको पुष्टि गरेको हो । पेले  किड्नी र प्रोटेस्टको समस्यासँग केही वर्षयता जुधिरहेका थिए ।

पेले विश्वकप फुटबलको उपाधि तीनपटक जितेका छन् । पेलेले सन्  १९५८, १९६२ र १९७० को विश्वकप उपाधी ब्राजिललाई जिताएका थिए   ।

पेलेकी छोरी केलि नासिमेन्तोले सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको निधन भएको जनाएकी हुन् ।

पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।

फुटबल भन्नासाथ सबैले सम्झिने नाम हो पेले । २३ अक्टोबर १९४० मा ब्राजिलको एउटा गाउँमा जन्मिएका एडसन अरान्ते दो नासिमेन्तो पैसाको अभावमा कागजका डल्ला र मोजाको बल खेल्दै हुर्किए । बाल्यकालमा डिको उपनामले परिचित उनै नासिमेन्तोलाई पछि संसारले पेले नामबाट चिन्यो । सबैका स्वीकार्य र प्रेरणा बनेका पेले फुटबललाई सुन्दर बनाउँदै महाप्रस्थान गरेका छन् ।

अमेरिकी आविष्कारक थोमस एडिसनबाट प्रेरित भएर उनको नाम एडसन अरान्तेदो नासिमेन्तो राखिए पनि परिवारका सदस्यले उनलाई मायाले डिको भनेर बोलाउँथे । जसको अर्थ सन अफ वारियर हो । पेले नाम कसरी रहन गयो त ? यसको पनि रोचक किस्सा छ । एडसनको उच्चारणमा समस्या थियो । उनको मनपर्ने एक ब्राजिलियन क्लबको गोलकिपरको नाम बिले थियो । तर उनी, पिले भनेर उच्चारण गर्दथे । साथीहरुले डिकोलाई पेले भनेर गिज्याउन थाले । आफ्नो नाम बिगारिदिएको भन्दै एडसनले साथीहरुसाग निकै झगडा गरे । पोर्चुगिच भाषामा पेले शब्दको अर्थ भेटिँदैन । तर हिब्रो भाषामा पेले भनेको मिराकल अर्थात् जादु हो । सााच्चिकै पेले नामले विश्वभर माया, एकता, सद्‌भाव र आफ्नोपनको जादु छर्यो ।

पेलेका पिता पनि स्थानीय स्तरमा नाम चलेका व्यावसायिक खेलाडी थिए । सानैमा फुटबलसँग जोडिएका उनलाई विश्वकप विजेता खेलाडी भ्लादिमिर डी बिर्ताले व्यावसायिक करियरमा जोडे । १५ वर्षको उमेरमै सान्तोस क्लबमा जोडिएका पेलेले पहिलो सिजनमै ३२ गोलका साथ लिगको उच्च गोलकर्ता बनेपछि पेलेलाई राष्ट्रिय टिममा बोलाइएको हो । १७ वर्षको हुँदा सन् १९५८ को विश्वकप खेल्ने टिममा छानिएका पेलेको यात्रा फुटबलको उच्चतम् विन्दुमा पुग्यो ।

विश्वकप खेल्ने सबैभन्दा कम उमेरका खेलाडी पेले पहिलो सहभागितामै ग्लोबल स्टार बने । फाइनलमा घरेलु टोली स्विडेनलाई पाँच-दुईले पराजित गर्दै ब्राजिलले पहिलोपटक विश्वकप जित्दा पेलेले दुई गोल गरेका थिए । पेले यत्तिमै रोकिएनन्, १९६२ र १९७० को विश्वकप पनि जिते । अहिलेसम्म तीन विश्वकप जित्ने पेले एकमात्र खेलाडी हुन् । १९७० को विश्वकप फाइनलमा ब्राजिलले इटालीमाथि चार-एक गोलको जित निकाल्दा पेलेले नै पहिलो गोल गरेका थिए । सो गोल विश्वकपमा ब्राजिलको एक सयौं गोल थियो ।

६० र ७० को दशकमा पेले राष्ट्रिय टिम र सान्तोसबाट विश्वका विभिन्न ठाउँमा पुगे । जहाँ पुग्थे त्यहाँ समर्थकहरुको ओइरो लाग्थ्यो । १९६७ मा पेले नाइजेरिया भ्रमणमा जाँदा त्यहाँ गृहयुद्ध चलिरहेको थियो । तर पेलेको खेल हेर्न दुवै पक्षले ४८ घण्टा युद्धविराम गरेका थिए । १९६१ मा ब्राजिलले, पेलेलाई स्वदेशमै रोक्न राष्ट्रिय सम्पति घोषणा गरेको थियो ।

२२ वर्षको करियरमा एक हजार दुई सय ८३ गोल गरेका पेलेले ९२ ह्याट्रिक गरेका छन् । राष्ट्रिय टिमबाट पेलेको नाममा ७७ गोल छ । १९७७ अक्टोबर १ मा करियरको अन्तिम फुटबल खेलेका पेलेले पहिलो हाफ सान्तेास र दोस्रो हाफ कसमसबाट खेलेका थिए । १९६९, नोभेम्बर १९ मा करियरको एक हजार गोल पूरा गर्दा मैदानमा समर्थकको भिड लाग्यो । जसका कारण ३० मिनेट खेल रोक्नुपरेको थियो ।

पेलेसँग छोटो संवादका लागि पनि विश्वका शक्तिशाली व्यक्ति घण्टौं प्रतीक्षा गर्दथे । १९९९ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट एथ्लिट अफ दी सेन्चुरी घोषित भएका पेले मैदानबाहिर पनि उत्तिकै चर्चित छन् । युनिसेफ र संयुक्त राष्ट्रसंघको दूत बनेर लाखौं बालबालिकाका लागि काम गरेका पेलेले भ्रष्टाचार निवारण र वातावरण संरक्षणमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याए । १९९५ देखि १९९८ सम्म खेलकुदमन्त्री बनेका पेले वर्तमान पुस्ताको पनि प्रेरणाको स्रोत हुन् । उनी जे थिए विशेष थिए, अद्भूत थिए । उनको भौतिक शरीरले महाप्रस्थान गरे पनि उनले छोडेर गएको सुगन्धले विश्वलाई सुन्दर बनाइराख्नेछ ।

-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा