२५ बैशाख २०८१, मंगलवार

चार्ल्सकी गर्लफ्रेन्ड निहिता भन्छिन्- सँगै फ्रान्स जादिनँ, अब सम्बन्धबारे बोल्दिनँ

niheta

बिकनी किलर चार्ल्स शोभराजसँगै प्रेमिका (गर्लफ्रेन्ड) निहिता विश्वास फ्रान्स नजाने भएकी छन् । हत्या अभियोगमा नेपालमा जेल सजाय कटाइरेका फ्रान्सका नागारिक चार्ल्सलाई थुनामुक्त गरी स्वदेश फर्काउन अध्यागमन विभाग लगिएको छ ।

चार्ल्सलाई अध्यागमन विभाग लगिएपछि उनका कानुन व्यवसायीसमेत रहेकी प्रेमिका निहिताले चार्ल्ससँगै कामको जिम्मेवारी र परिवारसँगको समन्वय अभावले फ्रान्स नजाने बताएकी हुन् ।

अध्यागमनतर्फ लगिएपछि निहिताले पत्रकारसँग कुराकानी गरेकी थिइन् । जसमा उनले चार्ल्स र आफ्नो सम्बन्धबारे अब नबोल्ने बताइन् ।

उनी भनिन्, ‘चार्ल्स र मेरो कुरा तपाईंहरुलाई चासोभन्दा पनि खुल्दुलीको विषय भयो । मेरो निजी कुरा आफैँसँग राख्छु । मैले विगतमा बोलेकी थिएँ । त्यसले कुनै उपलब्धि भएन ।’

तपाईं केही दिन चार्ल्स शोभराजसँग बिताउन चाहनुहुन्थ्यो ? भन्ने प्रश्नमा उनले भनिन्, ‘पहिला उसको सुरक्षाको कुरा आउँछ । उसलाई बाहिर पठाएपछि मात्र हामी ढुक्क हुन्छौं । हामीले भने जस्तो सुरक्षित उसलाई विदेश पठाएपछि मात्र ढुक्क हुन्छौं ।’

निहिताले चाँडै दूतावासको समन्वयमा चार्ल्स स्वदेश फर्किने बताइन् । उनले अगाडि भनिन्, ‘अहिले मैले चार्ल्सलगायत धेरै क्लाइन्टको काम गर्नुपर्नेछ । धेरै कामको जिम्मेवारी लिएको छु । त्यसबाहेक पनि परिवार र दूतावाससँग समन्वय गर्नुपर्ने हुन्छ ।’

साथै उनले पहुँच नभएका कारण चार्ल्सजस्ता धेरै छुट्नुपर्ने व्यक्ति जेलमै रहेको बताइन् । यो घटनाले उनीहरूलाई समेत केही राहत हुने निहिता बताउँछिन् ।

निहिता विश्वासले प्रशासनले अड्काइरहेकाले चार्ल्स शोभराजले कारागारबाट मुक्त हुन यति लामाे समय कुर्नुपरेकाे बताएकी छन्। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै विश्वासले शोभराजले धेरै अघि नै सफाइ पाउनुपर्नेमा ढिला भएको बताइन्।

‘तीन चारवटा अदालतकाे निर्णय आइसकेकाे थियाे, तर हरेकपल्ट प्रशासनले केही कुरा, केही करा भनेर अड्काइरहेकाे थियाे। त्यसैले अदालतले अब एकदम भयाे भनेर बुधबार बलियाे निर्णय गरेकाे हाे’, विश्वासले भनिन्, ‘त्यसैले याे पटक रिहा मात्र नभनेर १५ दिनभित्र घर फर्ता गर्न अदालतले आदेश दिएकाे हाे।’

‘वास्तावमा हिजाे एकदिन बढी कारागारमा राख्नुपनि गैरकानूनी हाे।’ उनले थपिन्।

सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गर्न १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो। उक्त आदेशअनुसार उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ।

निहितालगायत अन्य पर्यटकलाई समेत भित्र जान दिइएन

आज सुन्धारास्थित कारागारबाट रिहा भएका शोभराजलाई थुनामुक्त भएपछि अध्यागमन विभाग लगिएको हो।

‘बिकिनी किलर’ उपनामले कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज करिब दुई दशक कारागारमा कैद भुक्तान गरेर बुधबार सर्वोच्चको आदेशपछि आज थुनामुक्त भएका हुन्।

उनी हाल अध्यागमन विभागको जिम्मामा छन्। विभागबाहिर उनका वकिल, श्रीमती भनेर चिनिएकी निहिता विश्वासलगायत छन्। उनीहरूलाई भित्र जान दिइएको छैन। शोभराजसँग पनि भेट गर्न दिइएको छैन।

उनी मात्र नभएर अन्य पर्यटकलाई पनि अध्यागमन विभागभित्र जान दिइएको छैन।

हिजै छोड्नुपर्ने भए पनि विभिन्न कारण देखाएर शोभराजलाई नछोडिएको र हाल पनि आफूहरूलाई भित्र छिर्न नदिइएको भन्दै निहिताले विरोध गरिरहेकी छिन्। यस्तै शोभराजको सुरक्षामा पनि कमी भएको उनले आरोप लगाएकी छिन्।

यता निहिताले आफू शोभराजसँग फ्रान्स पनि नजाने बताएकी छिन्। आफ्नो केही काम भएको भन्दै उनी नेपालमै हुने भएकी हुन्।

अध्यागमन विभागले शोभराजलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी फेरि नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने (डिपोर्ट गर्ने) तयारी गरेकाे छ। शोभराजले भने मुटुको उपचार गराउनको लागि भनेर केही समय नेपालमै बस्ने व्यवस्था मिलाइदिन अनुरोध गरेको बताइएको छ।

शोभराज ७८ वर्षका भइसकेका छन्। बुधबार भएको फैसलामा ६५ वर्ष उमेर पुगेका कैदीका हकमा चालचलन हेरेर ७५ प्रतिशतसम्म कैद सजाय छुट दिन सकिने कानूनी व्यवस्था रहेको र विदेशी नागरिकको हकमा समेत सो कानून आकर्षित हुने उल्लेख गरिएको छ।

यसैगरी ओछ्यान पर्ने रोग लागेका कैदी बन्दीको हकमा समेत कैद छुट हुने कानूनी प्रावधान रहेको र शोभराज गम्भीर प्रकृतिको मुटुको रोगी रहेको र ओपन हर्ट सर्जरी गर्नुपर्ने बिरामी रहेको फैसलामा उल्लेख छ।

चार्ल्स तीन विदेशी नागरिकको हत्याको अभियोग पुष्टिसँगै नेपाली कारागारमा थिए। बन्दी प्रत्यक्षीकरण रिटमा उनलाई कारागारमुक्त गर्न आदेश नआएको भए उनी २०८० असोज १ गतेसम्म कारागारमा बस्नुपर्ने थियो।

    सम्बन्धित समाचार...