१४ बैशाख २०८१, शुक्रबार

जेठ २५ देखि लकडाउन स्वरुप परिवर्तन हुने भनिएको सिफारिसमा के के छ ?

covid 19meeting
फाइल फोटो

सरकारले जेठ ३२ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरिसकेको छ तर, नागरिक र व्यवसायीबाट दवाब आएपछी प्रधानमन्त्रीले विज्ञहरुसंग छलफल गरेका थिए । छलफलको क्रममा लकडाउनको स्वरुप परिवर्तन गर्न सुझाव आएको थियो ।

सरकारले जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । यसको लागी एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानिने जनाइएको छ । यस अन्तर्गत छोटो दुरीका यात्रुवाहक सवारी सञ्चालन, जिल्ला नकट्ने र एक पटकमा सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु राख्नेगरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

त्यसैगरी असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्नेगरी लामो दुरीमा यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव पनि कोभिड-१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले गरेको छ ।

उच्चस्तरीय समन्वय समितिका अनुसार अहिले सरकारको निती अनुरुपनै उत्पादनमूलक व्यवसायहरु, बैंक तथा वित्तिय संस्था, कृषि व्यवसाय र सबै प्रकारका ढुवानी साधनहरु लाई सन्चालन गर्न कुनै अवरोध छैन ।

उच्चस्तरीय समितिले तयार पारेको यो प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत नगर्दासम्म सार्वजनिक यातायात चल्ने छैनन् ।

समितिमा रहेका सदस्य मन्त्री हरु केहि सरकार विरोधी शक्तिले लकडाउन उल्लंघन गर्न उक्साए पनि सरकार संयमित भएर लागिपरेको बताएका छन । उक्साहटमा आएर खुलेका अन्य व्यवसाय भने सरकारले बन्द नगराउने जनाएका छन ।

उच्चस्तरीय समितिको प्रस्तावको मस्यौदा

Yatayat

जेठ २५ देखि भदौ मसान्तसम्मको कार्ययोजना

कार्ययोजना अनुरुप सरकारले जेठ २५ गतेदेखि व्यक्ति व्यक्तिबीच कम्तिमा १ मिटरको भौतिक दूरी राख्ने र आवश्यक प्रोटोकल पालना गर्ने गरी उपभोग्य वस्तु बाहेकका अन्य पसलहरु पनि खोल्ने गरी लकडाउनको तरिका बदल्ने गृहकार्य गरेको छ । यस सम्बन्धी निर्णय ढिलोमा आइतबार बस्ने मन्त्रिपरिषद बैठकमा हुन सक्नेछ ।

त्यसैगरी हाल खुल्ला रहेका बाहेकका व्यवसाय पनि मापदण्ड अनुसार सञ्चालन हुन दिने गरी प्रस्ताव गरिएको छ ।

यस्ता व्यवसाय मा सैलुन्, हाल बन्द रहेका अस्पताल प्रयोगशाला र निजी क्लिनिकहरु पनि पर्नेछन् । साथै जिल्ला नकट्ने गरी सवारी साधन र कार्यालयको परिचपत्रका आधारमा कामसँग सम्बन्धित सवारी साधनहरु पनि चल्न दिने प्रस्ताव गरिएको छ ।

सबै प्रकारका उद्योग व्यवसाय, आन्तरिक हवाई सेवा, धार्मिकस्थलहरु, लामो दूरीका यात्रुवाहक सवारी साधानहरु, मदिराजन्य पदार्थ विक्री वितरण गर्ने पसलहरु र सपिङ मलहरु भने असार १ गतेदेखि सञ्चालन हुने क्षेत्र प्रस्ताव भएका छन ।

असार १७ गतेपछि लकडाउन थप खुकुलो पार्दै अन्तर्राष्ट्रिय हवाई उडान, कम्तिमा एक मिटरको दूरी कायम गर्ने गरि खुल्ला खेलस्थलहरु पनि खोल्न सिफारिस गरिएको छ । त्यस्तै सबै प्रकारका शिक्षण संस्था, रेष्टुरेन्ट तथा खाजा पसलहरु असार १७ पछि ठाउँ हेरेर खोल्न सकिने सिफारिसमा छ ।

रेष्टुरेन्ट तथा खाजा पसलहरुहरु खोल्दा एक मिटरको भौतिक दूरी कायम गर्नु पर्ने साथै साँझ ७ बजेसम्म मात्र संचालन गर्न पाइने शर्त रहेका छन ।

भदौ मसान्तसम्म सन्चालन गर्न नपाइने सिफारिस भएकामा सभा समारोह, उत्सव, भोज भतेर जस्ता जमघट रहेका छन । त्यस्तै एकैपटक २५ जनाभन्दा बढी भेला हुने कुनै पनि क्रियाकलाप र सिनेमा हल, नाटक तथा नाचघर र फिटनेस सेन्टरहरु पनि भदौ मसान्त अघि खोल्न नहुने भनि सिफारिस गरिएको छ ।

उच्चस्तरीय समन्वय समितिमा परामर्शका क्रममा रहेको यो प्रस्तावमाथि विज्ञहरुसहित थप छलफलपछि मन्त्रिरिषदमा लगिने छ । मन्त्रिपरिषदले कतिपय क्षेत्रहरुका बारेमा हेरफेर गरी संक्रमण फैलावटको अवस्था हेरेर विभिन्न जिल्ला तथा क्षेत्रमा लकडाउन खुकुल्याउने र कडा पार्ने निर्णय लिने एक मन्त्रीले बताए ।