५ जेष्ठ २०८१, शनिबार

साझा उम्मेदवार बन्ने संस्थापन इतर पक्षबाट महामन्त्री गगन थापा

320753800 1370553086682548 451161296326145263 n.jpg

नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापन इतर पक्षबाट महामन्त्री गगन थापा साझा उम्मेदवार बन्ने भएका छन् ।

थापालाई समर्थन गर्न डा. शेखर कोइराला तयार भएपछि उनी साझा उम्मेदवार बन्ने भएका हुन् । 

साझा उम्मेदवार तय गर्न दुई दिनदेखि थापा र कोइराला पक्षबीच छलफल चलेको थियो । मंगलबार बिहान भएको छलफलमा थापालाई उम्मेदवार बनाउन सहमति जुटेको एक नेताले बताए ।   

लाजिम्पाटस्थित ‘होटल एम्बेसडर’ मा मंगलबार बिहान भएको छलफलमा महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाका साथमा उपसभापति धनराज गुरुङ, चन्द्र भण्डारी, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडू र अर्जुन नरसिंह केसी लगायतको सहभागिता थियो ।

केही नेताहरु हनुमानथानस्थित बसेरा होटलमा छलफलमा जुटेका थिए ।

कांग्रेस संसदीय दलको नेताका लागि आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म सिंहदरबारस्थित दलको कार्यालयमा मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका छ ।

दिउँसो साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुने छ भने साढे ३ देखि ४ बजेसम्म उम्मेदरवारविरुद्ध उजुरी दिन पाइने छ ।

संसदीय दलको नेतामा उम्मेदवारी दिएका उम्मेदवारले साढे ५ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने छन् ।

बेलुका पौने ६ बजे उम्मेवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने पुस ६ गते बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लाति मतदान हुने निर्वाचन समितिका संयोजक भीष्मराज आङदम्बेले जनाएका छन् ।