१५ चैत्र २०८०, बिहीबार

प्रदेश १ को कोसी अस्पतालका थप २८ जना डिस्चार्ज हुँदै, पर्सा र बाराका १२ जना पनि डिस्चार्ज

Koshi Hospital

प्रदेश १ बाट थप २८ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुने भएका छन् । विराटनगरको कोसी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज डिस्चार्ज हुन लागेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक गरी जम्मा २८ जना डिस्चार्ज हुँदैछन् । उनीहरु मध्ये ६ जनामहिला र २२ जना पुरुष छन ।

कोरोनामुक्त भएकाहरुलाई बिहीबार दिउँसो डिस्चार्ज गर्ने प्रदेश १ सकारले तयारी गरेको छ । योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ ।

यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जना निको भएर घर फर्किसकेका छन् ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८५ छ ।

पर्सा र बाराका १२ जना डिस्चार्ज

वीरगञ्जमा उपचाररत पर्सा र बाराका १२ जना कोरोना भाइरस संक्रमणमुक्त भएपछि डिस्चार्ज भएका छन् ।

नारायणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालबाट ५ जना र कलैया अस्पतालको आइसोलेसनबाट ७ जना घर फर्केका हुन् ।

दुवै अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीले फूलको गुच्छा दिएर, ताली बजाएर उनीहरुको विदाइ गरेका छन् ।

लगातार दुईवटा पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पाइएपछि पर्साका ३ जना र बाराका २ जना डिस्चार्ज गरिएको गण्डक अस्थायी कोभिड अस्पतालका संयोजक उदयनारायण सिंहले जानकारी दिए । बाराका दुवै नेपाली सेनाका सैनिक हुन् ।

उता बाराको कलैया अस्पतालको आइसोलेसनबाट ६ जना प्रहरी कर्मचारी र एक जना पत्रकार कोरोनामुक्त भएर घर फर्केका छन् । कलैयामा अझै ४३ जना संक्रमित उपचाररत छन् ।
कलैयाको आइसोलेसन खाली नभएका कारण ७ जनालाई हाल आदर्श कोतवालमा राखिएको छ ।