८ बैशाख २०८१, शनिबार

स्थानीय तहद्वारा आइसोलेशन व्यवस्थापनमा आलटाल

Isolation Beds

समुदायस्तरमा कोरोना सङ्क्रमणको उच्च जोखिम बढ्दै गएको अवस्थामा यहाँका अधिकांश स्थानीय तह आइसोलेशन कक्ष व्यवस्थित गर्न आलटाल गरिरहेका छन् । १३ स्थानीय तहमध्ये आठले हालसम्म आइसोलेशन कक्ष निर्माण गरेका छैनन् ।

आइसोलेशन कक्ष तयार गरेका पाँच स्थानीय तहमध्ये बनेपा नगरपालिकाले ५० बेड र धुलिखेल नगरपालिकाले ३१ बेडको कक्ष तयार गरेका हुन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार हाल तीन नगरपालिका पाँचखालले सात, पनौतीले छ र नमोबुद्धले छ बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेका छन् । मण्डनदेउपुर नगरपालिका तथा खानीखोला, महाभारत, रोशी, बेथानचोक, तेमाल, भुम्लु र चौंरीदेउराली गाउँपालिकाले हालसम्म आइसोलेशन कक्ष व्यवस्थित गरेका छैनन् ।

बनेपाले प्राविधिक शिक्षालय भवनमा र धुलिखेल नगरपालिकाले सञ्जीवनी उच्च माविको भवनमा हालै मात्र आइसोलेशन कक्ष व्यवस्थित गरेका हुन् । कोरोना सङ्क्रमितलाई उपचारार्थ राख्न आइसोलेशन कक्ष व्यवस्थित गर्नुपर्ने भएको हो । जिल्लाभित्र कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढ्दै गएपछि करिब दुई महिनाअघि नै पोष्ट र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको संयुक्त बैठकको निर्णयसँगै स्थानीय तहलाई आइसोलेशन कक्ष बनाउन पटकपटक आग्रह गर्दै आएको जनाइएको छ ।

“सबै स्थानीय तहलाई आइसोलेशन कक्ष व्यवस्थित गर्न आग्रह गर्दै आएका छौँ, केहीले मात्रै बनाएका छन्, अन्यले वास्ता गरेका छैनन्” पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्रकुमार झाले भन्नुभयो । उहाँका अनुसार स्थानीय तहले आइसोलेशन नबनाए जिल्लाका अस्पतालले सङ्क्रमित धान्नसक्ने अवस्था छैन ।

पोष्ट र केन्द्रले सबै स्थानीय तहलाई प्रारम्भिक चरणमा १० बेडको आइसोलेशन कक्ष तयार गर्न पटकपटक आग्रह गर्दै आएको हो । झाले भन्नुभयो, “स्थानीयस्तरमा सङ्क्रमित देखिन थालेका छन्, त्यो सङ्ख्या बढेपछि बनाउन बाध्य होलान् कि !” यहाँका स्थानीय तहले हालसम्म जम्मा सय बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेका हुन् ।

छ बेडको आइसोलेशन कक्ष तयार गर्नुभएका नमोबुद्ध नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले आवश्यकताअनुसार आइसोलेशन बेडको सङ्या बढाउन तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँका अनुसार उक्त नगरका पाँच सङ्क्रमितमध्ये दुई धुलिखेल अस्पतालको आइसोलेशनमा उपचाररत रहेका छन् भने तीन उपचारपछि हाल ‘होम क्वारेन्टिन’मा बसेका छन् ।

भुम्लु गाउँपालिकाले कोरोना सङ्क्रमित बढ्दै गए पनि आइसोलेशनका लागि आवश्यक स्वास्थ्यकर्मी नहुँदा व्यवस्थित नगरिएको जनाएको छ । “चिकित्सकलगायत जनशक्ति भए स्थानीयस्तरमै सङ्क्रमितको उपचार गर्न आइसोलेशन कक्ष तयार गर्न सकिन्छ, तर अहिले सम्भव छैन”, अध्यक्ष गुमानध्वज कुँवरले भन्नुभयो । उहाँका अनुसार गाउँपालिकाका १० कोरोना सङ्क्रमितमध्ये हाल तीन मात्रै आइसोलशनमा उपचाररत छन् ।

जिल्लामा हालसम्म १६३ मा कोरोना सङ्क्रमण देखिएको छ । यसमध्ये एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ६८ उपचारपछि घर फर्किएका छन् । बाँकी ९३ सङक्रमित विभिन्न आइसोलेशनमा उपचाररत छन् । विश्वव्यापी महामारीका रुपमा कोरोना भाइरस् सङ्क्रमण फैलँदै गएपछि २०७६ चैत महिनायता यहाँका स्थानीय तहले ८४५ शै्ययाको क्वारेन्टिन बेड व्यवस्थित गरेका छन् ।