१७ बैशाख २०८१, सोमबार

ओली निवास बालकोट पुगे प्रचण्डको सन्देश बोकेर देव गुरुङ, बन्ला त वाम गठबन्धनको सरकार ?

kp oli Dev Gurung

निर्वाचनको परिणाम आएपछि दलहरु नयाँ सरकार गठनको लागि जुटेका छन् । पछिल्लो समय नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरुबीच भेटवार्ता बाक्लिएको छ । माओवादी केन्द्र कांग्रेस नेतृत्वको गठबन्धनमार्फत चुनावमा गएको थियो ।

उसले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी ३२ सिट प्राप्त गरेको छ। यो निर्वाचनमा माओवादीले राम्रो नतिजा नल्याएको चर्चाकाबीच एमाले–माओवादीको सम्भावित सहकार्यबारे चर्चा सुरु भएको छ ।

निर्वाचनको पूर्ण परिणाम नआउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर बधाई दिएका थिए । उनीहरुबीच नयाँ सरकार गठनबारे पनि छलफल भएको चर्चा छ । तर, एमालेका शीर्ष नेताहरुले भने अब माओवादीसँग सहकार्य नहुने बताईरहेका छन् ।

स्वयम प्रचण्डले पनि सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने र एमालेसँगको सहकार्यको सम्भावना नरहेको बताउने गरेका छन् । तरपनि दुवै दलका दोस्रो तहका नेताहरु भने भेटवार्तामा जुटिरहेका छन् । हिजो (मंगलबार) साँझ माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न गुरुङ बालकोट पुगेका थिए ।

उनी अध्यक्ष प्रचण्डकै निर्देशनमा बालकोट पुगेको खुलेको छ । उनीहरुबीच नयाँ सरकार गठनबारे पनि छलफल भएको चर्चा छ । तर, गुरुङले भने राजनीतिक विषयमा गम्भीर छलफल नभएको र निर्वाचन जितेकोमा आफूले ओलीलाई बधाई दिएको स्पष्ट पारेका छन् । पछिल्लो समय एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र स्वतन्त्रहरु मिलाएर नयाँ सरकार गठनको प्रयास पनि भैरहेको छ ।