३ जेष्ठ २०८१, बिहीबार

प्रहरी चौकीमा ताल्चा लगाएर सदरमुकाम आए प्रहरी

61ee71d7bdd47 humla biman

हुम्लाको नाम्खा गाउँपालिका – ५ को हिल्सा, ६ को लिमीस्थित सुनखानीका सीमा क्षेत्रमा रहेका प्रहरी चौकी सदरमुकाम सारिएको छ। अत्याधिक चिसो हुने भएपछि यी दुई ठाउँमा रहेका प्रहरी चौकीहरुमा कार्यरत प्रहरीहरू सदरमुकाम आएका हुन् । 

जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक दीपक मल्लले दिएको जानकारीअनुसार हिउँदमा चिसो पनि हुने र मानिसको आउजाउ नहुने भएकाले दुवै प्रहरी चौकीबाट प्रहरीलाई सदरमुकाम फिर्ता बोलाएको हो । कुनै पनि घटना नहुने र हिउँदमा प्रहरीलाई रासनपानीको व्यवस्था गर्न समस्या हुने भएकाले बर्सेनि मंसिरपछि चौकीमा खटिएका प्रहरीलाई सदरमुकाम झिकाउने काम हुँदै आएको छ । 

चौकीका प्रहरी फिर्ता आएपछि चौकीमा ताला लगाएर बन्द गरिएको छ। हिल्सामा १३ जना र सुनखानीमा ११ जना प्रहरी कार्यरत थिए ।  अघिल्ला वर्षमा हिल्सा प्रहरी चौकीका प्रहरीलाई नाम्खा गाउँपालिका–५ कै मुचु प्रहरी चौकीमा हिल्साबाट फिर्ता बोलाएर राख्ने गरिए पनि यस वर्ष जिल्लामा बोलाइएको छ।

दुुबै प्रहरी चौकीका प्रहरी जेठसम्म जिल्लामै बस्ने र त्यसपछि मात्र चौकीमा फिर्ता हुनेछन्। हिल्सामै स्थापना भएको सशस्त्र प्रहरी सीमा सुरक्षा चौकी (बिओपी) भने हिल्सामै छ।

    सम्बन्धित समाचार...