१४ बैशाख २०८१, शुक्रबार

हिउँको डरले उधारोमा बन्यो कर्णालीमा पुल

pul

पुल निर्माण सम्झौतापूर्व नै हुम्लाको लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् । पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन । हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयले आफैँ खर्च र जनश्रमदान गरी पुल निर्माण गरेका हुन् ।

नाम्खा गाउँपालिका–६, लिमीको तिलगाउँका स्थानीय बासिन्दा फुर्बु लामाले पछि बजेट प्राप्त हुने विश्वासमा तिलगाउँलाई जोड्ने तिम्ज्यङुको बाटोमा पर्ने कर्णाली नदीमा काठेपुल निर्माण गरिएको बताए । ‘स्थानीय उपभोक्ता समितिबाट पुल निर्माण गरिएको छ,’  उनले भने, ‘लिमीको हल्जी र जाङगाउँमा गाडी गुडेको देखेपछि उधारो सम्झौतामा पुल निर्माण गर्न बाध्य भएका हौँ ।’

नदीसम्म मोटरबाटो निर्माण भइसके पनि पुल नहुँदा सडक सञ्जालमा तिलगाउँ जोडिन सकेको थिएन । अन्य गाउँमा मोटर पुगेको देखेपछि गाउँलेले हतारिँदै सल्लीबाट काठ लगेर पुल निर्माण गरेका हुन् । गाउँलेले निर्माण गरेको २० मिटर लम्बाइ र पाँच मिटर चौडाइको पुलमा गाडी ओहोरदोहोर गर्न थालिसकेको छ । यसबाट गाउँले निकै खुसी भएका छन् । 

डिभिजन वन कार्यालयको वार्षिक कार्यक्रममा सो पुल निर्माणको स्वीकृत योजना छ । पुल निर्माणका लागि ६० लाख रुपियाँ विनियोजन गरिएको छ । योजनामा परेकाले बजेट प्राप्त हुने सुनिश्चित भएपछि उधारोमै काम गरिएको हो । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले हिमपात भएपछि चिसोले काम गर्न नसकिने भएकाले सबैको सहमतिमा पुल निर्माण गरिएको बताए । 

उनले अब डिभिजन वन कार्यालयसँग समन्वय गर्ने काम वडाले गर्ने उल्लेख गर्दै अब उपभोक्ता समितिले सो कार्यालयसँग आगामी चैत, वैशाखमा मात्रै औपचारिक सम्झौता गर्ने बताए । 

पुल निर्माणमा एक सय जना कामदारलाई संलग्न गराइएको छ । उनीहरूले १२ दिनमा पुल निर्माण सम्पन्न गरेका छन् । पुल निर्माणमा ३५ जना कामदार महिला थिए । प्रयोग गरिएका कामदारलाई रकम प्राप्त भएपछि मात्र भुक्तानी दिइनेछ । पुल निर्माणका लागि प्रयोग गरिएको मेसिनको ज्याला र निर्माण गरिएको ग्याबिनको पनि रकम उधारो नै छ ।

    सम्बन्धित समाचार...