८ बैशाख २०८१, शनिबार

देउवाले बनाएका सांसदले अरूलाई संसदीय दलको नेता बनाउँदैनन्ः भण्डारी

chandra bhandari

नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित सांसद डा. चन्द्र भण्डारीले पार्टीमा परम्परागत रुपमा झगडा गर्नुभन्दा पावर सेयरिङ गरेर जानुपर्ने बताएका छन् ।

‘नेपाली कांग्रेसको अवस्था नियाल्दा २९ लाख मतदाता थपिँदा पनि कांग्रेसको मत घट्यो । त्यसैले अब पार्टीमा नयाँ तरिकाले सोच्नुपर्ने अवस्था छ ।

संसदीय दलमा सर्वसम्मत हुन नसके स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ । तर पम्परागत रुपमा झगडा गर्ने, एकले जित्ने र हार्ने भन्दा पनि पावर सेयरिङ गरेर जाने कि भन्ने छलफल चल्दै छ,’ प्राइम टाइम्स टेलिभिजनको कार्यक्रममा कुरा गर्दै भण्डारीले भने ।

पार्टीको संसदीय दलमा आफ्नो समूहले जित्ने अवस्था नभएको पनि उनले स्वीकार गरे । भण्डारीले थपे, ‘हो, पुरानो नेतृत्वमा विश्वास कम भएको छ । तर संसदीय दलमा भोट हाल्ने त प्रत्यक्ष र समानुपातिकबाट आउने सांसदले नै हो । उनीहरुको राय पनि बुझ्नुपर्छ ।

जनताले नयाँ अनुहार खोजे पनि संसदको संरचना अनुसार हाम्रोतिर नतिजा आउँछ जस्तो लाग्दैन । त्यहाँ शेरबहादुर देउवाले बनाएका मानिस नै ज्यादा छन् । उहाँको बहुमत छ । अब अल्पमतलाई कसरी लिएर जाने भन्ने कुरा शेरबहादुरजीले पहल गर्नुपर्छ । धेरै किचपिच गर्दा मुलुकले निकास पाएन । राजनीतिमा सधैं जितिन्छ भन्ने हुँदैन । भोलिको नेतृत्वका निम्ति पनि हामीले तयारी गर्नुपर्‍यो ।’

रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाउने कि राष्ट्रपति बनाउने भन्ने प्रश्नमा भण्डारीले भने, ‘मैले चाहेर वा नचाहेर रामचन्द्रजी हुने वा नहुने होइन । अहिले जुन युवा पुस्ता छ, एनपी सावद र मेरो हातबाट बनेको हो । यो टिम बनाउन मेरो पनि योगदान छ ।

युवाप्रति आशा, भरोसा र विश्वास छ । उहाँले चाहनुभयो भने कांग्रेस नयाँ तरिकाले अघि बढ्न सक्छ । उहाँ नजिकका मानिसले दुरुपयोग नगरेको भए कांग्रेसले २५ सिट बढी जित्थ्यो । खाइपाइ आएकाले शेरबहादुर भन्नु स्वाभाविक हो । तर अबको एक-डेढ वर्ष उहाँहरुको चल्ने हो । त्यसपछि हाम्रो हातमा आउँछ ।’ उनले अध्यादेशले शासन गर्न खोज्नु गलत भएको पनि औंल्याए ।