
कतार फिफा २०२२ विश्वकप अन्तर्गत आज अन्तिम खेलमा पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध गोलको वर्षागर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध ६-१ को फराकिलो जित दर्ता गराएको हो । कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा सुरुवात गराएको पोर्चुगलको जितमा फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे । क्रिस्टियानो रोनाल्डोको स्थान लिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे । १७ अौं मिनेटमा रामोसले जोआअो फेलिक्सको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरे ।
पोर्चुगलका लागि राफाएल गुरेरो, राफाएल लिआअो र पेपेले १-१ गोल थपे । यस्तै, कार्यवाहक कप्तान पेपेले ३३ अौं मिनेटमा अग्रता दोब्बर पारे । ब्रुनो फर्नान्डेसको कर्नरमा पेपेले ६ यार्ड बक्स भित्रबाट हेडरमार्फत गोल गरेका थिए ।
५१ अौं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गरे । ५५ अौं मिनेटमा राफाएल गुरेरोले अर्को गोल गरे । त्यसको केहीबेरमै म्यानुएल अकान्जीले स्विट्जरल्यान्डका लागि गोल फर्काए ।
६७ अौं मिनेटमा रामोसले ह्याट्रिक पूरा गरे । पोर्चुगलका लागि पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा सुरुवात गरेका उनले विश्वकपमा ह्याट्रिकको दुर्लभ उपलब्धि हासिल गरे । इन्ज्युरी समयमा लिआअोले गुरेरोको पासमा गोल गर्दै खेलमा पोर्चुगलको गोल संख्या आधा दर्जन पुर्याए ।
पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा ३-० ले पराजित गरेको थियो ।
यस खेलसँगै प्रिक्वाटरफाइनलका खेल समाप्त भएको छ । यसअघि विजयी हुँदै क्रोएसिया, ब्राजिल, नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्ड अन्तिम आठमा प्रवेश गरिसकेका छन् ।