१३ बैशाख २०८१, बिहीबार

लकडाउनको मोडालिटी बारे छलफल गर्न २५ जना विज्ञहरुलाई बालुवाटार डाकियो

pm office baluwatar

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीका बारेमा विज्ञहरुसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले लकडाउनलगायत विषयमा छलफल गर्न बुधबार दिउँसो चार बजे विज्ञहरुलाई बालुवाटार बोलाएका छन्। उनले खासगरी आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रका २५ जना विज्ञलाई छलफलका लागि बालुवाटार बोलाएका हुन्।

‘प्रधानमन्त्रीज्यूले आर्थिक, नागरिक समाज‚ चिकित्सक, जनस्वास्थ्यलगायत विभिन्न २५ क्षेत्रका विज्ञसँग लकडाउनको मोडालिटीका विषयमा छलफल गर्नु हुनेछ।’ प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले भने, ‘सबै क्षेत्रका विषयमा विज्ञको सुझावका आधारमा लकडाउनको स्वरूप तयार हुन्छ।’

कोरोनाको संक्रमण बढीरहेका बेला लकडाउनलाई निरन्तरता दिँदा सर्वत्र असर परेको भन्दै सरकारको आलोचना हुन थालेपछि यसको विकल्पका बारेमा आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रका विज्ञहरुसँग छलफल गर्न लागिएको हो ।

अपरान्ह चार बजे प्रधानमन्त्री निवास बाुलवाटारमा बोलाइएको बैठकमा जेठ ३२ सम्म कायम रहेको लकडाउनलाई प्रभावकारी बनाउँदै जनजीवन सहज बनाउने बारेमा छलफल हुने बताइएको छ । उक्त छलफलपछि मात्रै लकडाउनको मोडालिटीबारे निर्णय लिइने बुझिएको छ।

यसअघि पटक–पटक भएका छलफलमा अर्थतन्त्र धराशायी भएको भन्दै लकडाउन खुकुलो पार्ने विषयमा छलफल भएपनि निर्णय हुन सकेको छैन ।

लकडाउनका कारण दैनिक जिवनयापनमै समस्या भएको भन्दै मकवानपुर, वीरगञ्ज, सुर्खेत लगायतका जिल्लामा आजदेखि व्यवसाय संचालन गर्ने बताइएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले मंगलबार आर्थिक क्षेत्रसँगै नागरिक समाजका प्रतिनिधिसँग लकडाउनको मोडालिटीका बारेमा छलफल गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा लकडाउन मोडालिटीका बारेमा मिश्रित धारणा आएको समितिका संयोजक ईश्वर पोखरेलले बताए।

‘कोरोना भाइरसको संक्रमण बढ्दो छ। मुलुक लकडाउन भएको लामो समय भइसक्यो। आर्थिकलगायत हरेक क्षेत्र प्रभावित छन्’ पोखरेलले भने, ‘अब जनजीवन सामान्य बनाउन लकडाउनको स्वरूप कस्तो अपनाउने? लकडाउनलाई कसरी परिमार्जन गरेमा आर्थिकलगायत अरु क्षेत्रलाई सहज बनाउन सकिन्छ भन्ने विषयमा छलफल भयो।’ लकडाउनको स्वरूप कस्तो अपनाउने भन्ने विषयमा फाइनल भइनसकेको पोखरेलले बताए। विदेशमा अभ्यास भएका लकडाउन मोडालिटीका विषयमा अध्ययन गरी सरकारले लकडाउन परिमार्जन गर्ने तयारी गरेको छ।

लकडाउनका विभिन्न मोडलबारे छलफल चल्दै 

सरकारले लकडाउन परिमार्जनका विषयमा विभिन्न मोडलका विषयमा छलफल चलाएको छ। संक्रमितको संख्यालाई आधार बनाएर हरियो, पहेलो‚ रातो निर्धारण गरेर खुला गर्ने कि भन्ने विषयमा छलफल चलेको छ। यस्तै प्रदेश र जिल्लाको संक्रमित संख्यालाई हेरेर लकडाउन खुकुलो बनाउने बारेमा छलफल चलेको छ। आर्थिक, दैनिक उपभोग्य सामग्रीको उत्पादन र वितरणको अवस्थालाई समेत सरोकारवाला निकायसँग छलफल गरी निष्कर्षमा पुग्ने तयारी गरिएको छ।

‘हामीले लकडाउन मोडालिटीका बारेमा विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गर्छौं। छलफलबाट एक खालको स्वरूप तयार गर्छौं।’ पोखरेलले भने, ‘लकडाउनको स्वरूपको प्रस्ताव तयार गरी मन्त्रिपरिषदबाट निर्णय गराई कार्यन्वयनमा जान्छौं।’ यस्तै विदेशबाट समेत नेपाली स्वदेश फर्काउने प्रक्रिया सुरु भइसकेकाले थप समस्या आउन सक्ने भन्दै सरकार उत्तिकै त्रसित समेत भएको छ।