१५ बैशाख २०८१, शनिबार

एकजुट बन्दै स्वतन्त्र उम्मेदवारहरु, देशभरमा २ हजार हाराहारी स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा

sotantra

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरमा २ हजार हाराहारी स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

एक्ला एक्लै निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवारलाई चुनावै जितेमा एक्लै के गर्न सक्छन् रु भन्ने प्रश्न पनि आम रुपमा उठेको छ। एक्ला–एक्लै उम्मेदवारी मनोनयन दर्ता गराएका देशभरका स्वतन्त्र उम्मेदवार भने एक आपसमा जुट्न थालेका छन् ।

कुनै दलसँग आवद्ध नरहेका व्यक्ति स्वतन्त्ररुपमा निर्वाचनमा भाग लिन पाउँछन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, प्रदेशसभा सदस्य निर्वाचन ऐनले समेत स्वतन्त्र उम्मेदवार व्यक्तिगत हुने परिकल्पना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ को उपदफा ६ ले स्वतन्त्र उम्मेदवारका लागि वर्णानुक्रम अनुसार छुट्टा–छुट्टै निर्वाचन चिन्ह दिइने व्यवस्था छ ।

यो व्यवस्थाले स्वतन्त्र उम्मेदवार भनेको कुनै दलबाट नियन्त्रित वा कुनै दलको सिद्धान्तमा बाँधिएको हुँदैन । त्यसैले उ जनताको प्रतिनिधित्व गर्दै संसदमा स्वतन्त्र रहन्छ, उसलाई दलीय ह्वीप पनि लाग्दैन । तर, अहिले स्वतन्त्र उम्मेदवारहरु संगठित बन्ने प्रयासमा छन् ।

शनिबार मात्र काठमाडौंको पेप्सीकोलामा स्वतन्त्र उम्मेदवारी दिएकाले संयुक्त आमसभा नै गरे । यहाँ काठमाडौं क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएका अनुप बोहरालाई मत माग्न सभा गरिएको थियो, यहाँ ललितपुर क्षेत्र नम्बर २ बाट दीपेश केसी लगायतका स्वतन्त्र उम्मेदवारहरु पनि सहभागी थिए ।

हुन त नेपालको संविधान र कानूनले संगठित हुने सुनिश्चितता गरेको छ, तर स्वतन्त्र बनेर चुनावी मैदानमा उत्रिने अनि संगठनको अभ्यास गर्नुलाई धेरैले नैतिक प्रश्न उठाएका छन् । तर, स्वतन्त्र उम्मेदवारहरु नैतिक प्रश्न नउठ्ने बताउँछन बरु भने देशभरका स्वतन्त्र उम्मेदवारहरुलाई नै मत माग्ने बताउँछन् ।

केही दिन अघि मात्रै काठमाडौंको भृकुटी मण्डपमा उम्मेदवार बृहत मेला लागेको थियो । जहाँ दलहरुबाट उम्मेदवार भएकाहरु भन्दा स्वतन्त्र उम्मेदवारहरुकै जमघट भएको थियो । यहाँ पनि एक स्वरमा उनीहरुले स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका थिए ।

विगतमा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएपनि ठूलादलहरुलाई समर्थन गर्ने बाहेक उल्लेखनीय रुपमा कुनै काम गर्न नसकेको यथार्थ अनुसार अहिले मतदात अघि नै स्वतन्त्र उम्मेदवारहरु एक जुट हुने अवस्था देखिएको छ । यस्तो अवस्थालाई सकारात्मक मान्नुपर्ने कतिपयको तर्क छ ।

स्वतन्त्र उम्मेदवारहरुको अहिलेको एकता निर्वाचन पछिसम्म पनि कायम रहेका विचार मिल्ने उम्मेदवाहरुले दल दर्ता गर्न सक्ने संभावना पनि देखिएको विश्लेषक बताउँछन् । दल दर्ता नगरेपनि एकतावद्ध भएका उनीहरुको आवाज संसदमा सशक्त बन्न सक्छ ।

निर्वाचन आयोगबाट चुनाव चिन्ह लिएर चुनावमा होमिएका स्वतन्त्र उम्मेदवार निर्वाचित भइहालेमा पनि संसदमा दलीय प्रभाव हुने भएकाले जनताको आवाजलाई कसरी बुलन्द गर्छन् भन्ने आम चासोको बिषय बनेको छ ।