५ जेष्ठ २०८१, शनिबार

राजनीतिक दुर्घटना र प्रतिगमनको खतरा रहेसम्म गठबन्धन : अध्यक्ष दाहाल

prachanda

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै भन्नुभयो, “निकै दुःख गरी गठबन्धन बनाइएकाले प्रतिगमको खतरा नटरेसम्म कायमै रहन्छ ।” प्रतिगमनको खतरा कम हुँदै गएको भन्दै उहाँले थप्नुभयो, “जतिबेलासम्म राजनीतिक दुर्घटनाको खतरा रहिराख्छ, प्रतिगमनको खतरा रहिराख्छ त्यतिबेलासम्म गठबन्धन कायम रहन्छ ।”

निर्वाचनमा एकताको प्रदर्शन गरेर गठबन्धनका उम्मेदवारलाई विजय गराएपछि राजनीतिक दुर्घटना गराउन खोज्ने शक्ति पराजित भएर जाने उहाँले बताउनुभयो । आगामी निर्वाचनलाई जनमत सङ्ग्रहको संज्ञा दिँदै उहाँले भन्नुभयो, “यो निर्वाचन अग्रगमन र प्रतिगमन के रोज्ने भनेर आफ्नो मत जाहेर गर्ने समय हो ।”

गठबन्धनको बहुमत सुनिश्चित रहेको भन्दै उहाँले अत्यधिक बहुमत ल्याउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो “हामीले सरकार गठन गर्नका लागि मात्र गठबन्धन बनाएका होइनौँ । यो देशमा स्थिरता र विकासका लागि हो ।” राजनीतिक दुर्घटनाबाट देश बचाउन गठबन्धन बनेको जनाउँदै उहाँले गठबन्धनलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संविधानमा हस्ताक्षर गरेका दलहरुबाट नै संविधानमाथि प्रहार गर्ने काम भएको उहाँको भनाइ छ । चितवनवासीले विसं २०७४ मा विजयी बनाएर विकासको मोडल दिने अवसर दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनमा धेरै परियोजना ल्याएर धेरै काम भएका छन् । सडक सञ्जाल, शिक्षा, रोजगारी सबै प्राप्त भएका छन् ।” अबको आफ्नो जीवन विकास र आर्थिक समृद्धिका लागि सङ्कल्प गरेको भन्दै उहाँले कसैको डर, धम्कीमा नलागी गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो ।