१४ बैशाख २०८१, शुक्रबार

अझै संविधान, लोकतन्त्र र व्यवस्था माँस्ने अभियानमा सक्रिय छन् केपी ओली : वर्षामान पुन

Barshaman Pun
फाइल फोटो

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केपी ओली अझै संविधान, लोकतन्त्र र व्यवस्था माँस्ने अभियानमा सक्रिय रहेको बताउनुभएको छ ।

गृहजिल्ला रोल्पाको सुलैचौधरमा लोकतान्त्रिक वाम गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले एमाले अध्यक्ष ओलीले राजावादी र विखण्डनकारीहरूसँग अपवित्र गठबन्धन गरेको आरोप लगाउनुभयो ।

ओलीसँग चुनावी गठबन्धनमा रहेका दल र व्यक्तिहरूका अनुहार र चरित्रबाट उहाँको नियत प्रष्ट भएको पुनको भनाइ थियो।

पटक पटक संविधान च्यात्नेहरू, प्रतिगमनको प्रयास गर्ने, लोकतन्त्रमाथि चुनौती खडा गर्नेहरू, हिजोका राजावादीहरू, मधेशलाई अलग राज्य बनाउन चाहनेहरू, विभिन्न खाले विखण्डनवादी र साम्प्रदायिक सोच राख्ने शक्ति तथा व्यक्तिहरूको प्रतिगामी मोर्चा जनताविरूद्ध खडा गरिएको छ। हामी मंसिर ४ मा यसलाई परास्त गर्नेछौं,’ नेता पुनको भनाइ थियो ।

पुनले केपी ओलीले जनताले स्थायित्व र विकासका लागि ०७४ को निर्वाचनमा दिएको जनमतमाथि अपमान गर्दै दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेपछि त्यसको प्रतिवादका लागि गठबन्धन निर्माण गरेको जिकिर गर्नुभयो ।

ओलीले राज्यका सबै संयन्त्र आफ्नो नियन्त्रणमा लिने तथा संविधान र व्यवस्थामाथि हमला गरेर निर्वाचित तानाशाह बन्न खोजेको उहाँको आरोप थियो ।