१३ बैशाख २०८१, बिहीबार

उत्साहजनक माओवादी केन्द्रका लागि मतपरिणाम, हाम्राे एजेण्डा जनताले रूचाएकाे पुष्टि भयाे : नेता पुन

Barshaman Pun
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गर्नुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताउनुभएको हो ।

उहाँले निर्वाचन परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रिया समेत दिनुभयो । नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भएपनि आन्तरिक मतभेदहरु मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको तर्फबाट भन्दा उत्साहजनक छ । धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे । हामी निर्णायक शक्ति हौँ । हामी स्थापित शक्ति हौँ । हाम्रो एजेण्डा देशमा स्थापित छ । त्यो एजेण्डा जनताले रुचाएको छ भन्नेकुरा पुष्टि भएको छ । अपेक्षा यो भन्दा अझ राम्रो थियो । तर हाम्रो कतिपय ठाउँमा उम्मेदवारहरु मिलाउने, आन्तरिक मतभेदहरु मिलाउनेमा हामी सकेनौँ । नत्र यो भन्दा राम्रो हुन्थ्यो ।’

नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको बताउनुभयो । केही ठाउँमा माओवादीलाई मत नहालिएको भएपनि धेरै ठाउँमा गठबन्धन सफल भएको उहाँको भनाइ छ । गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने बताउनुभयो।

उहाँले पार्टीको जित वा हारको कारण गठबन्धनलाई मात्रै मान्न नसकिने बताउनुभयो ।