२० बैशाख २०८१, बिहीबार

दोहोर्याएर कसैले चुनाव नजितेको जुम्लामा सबै दलका नयाँ अनुहार प्रतिस्पर्धामा

Sangka Umadar Jumla

जुम्लाबाट हरेक निर्वाचनमा उम्मेदवारहरूको मनोनयन दोहोरिन्छ तर अहिलेसम्म कसैले पनि जित दोहोर्‍याउन सकेका छैनन् । जुम्ली जनमत बदलिरहन्छन् । दलहरूले पनि जनताको चाहना बुझेर निर्वाचनै पिच्छे नयाँ अनुहार चुनावी मैदानमा पठाउने गरेका छन् ।

जुम्लामा पुरानै अनुहारलाई दलले टिकट दिएर मैदान पठाए पनि जितेको इतिहास नभएको स्थानीय बताउन्छन् । जुम्ली मतदाता नयाँ परिस्थिति अनुसार नयाँ अनुहार चुन्न चाहन्छन् ।

जुम्लीले हरेक नेताको परीक्षण समेत गरिसकेका छन् । कहिल्यै सांसद नदोहोर्‍याउँदा एक पटक मैदानमा उत्रिएको नेतृत्व पुनः मैदान आउन तर्सिनुपर्ने अवस्था छ ।

२०४८ सालको संसदीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका डिल्लीबहादुर महत सांसद चुनिएका थिए । २०५१ सालमा पनि नेमकिपाकै भक्तबहादुर रोकाया र २०५६ सालमा एमालेबाट देवीलाल थापा निर्वाचित भए ।

संविधानसभाको पहिलो निर्वाचन २०६४ मा माओवादी केन्द्रका नरेश भण्डारी र दोस्रो संविधान सभा निर्वाचन २०७० मा कांग्रेसका ललितजंग शाहीले विजय प्राप्त गरे ।

२०७४ सालमा माओवादीकै गजेन्द्रबहादुर महत निर्वाचन जितेर प्रतिनिधिसभा पुगे । जनताले दललाई दोहोर्‍याए पनि दोहोरिएर जित्ने व्यक्ति भने कोही छैनन् ।

पञ्चायतकालमा पनि जिल्लामा सांसद दोहोरिएनन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि अहिले गठबन्धनका तर्फबाट माओवादीकी गोमा गौतम कुँवर प्रतिस्पर्धामा छिन् । उनीसँगै एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाही पनि चुनावी मैदानमा छन् । यी सबै नयाँ अनुहारहरू हुन् ।

जुम्लामा पुरानै अनुहारलाई दलले टिकट दिएर मैदान पठाए पनि जितेको इतिहास छैन । आसन्न निर्वाचनमा पनि सबै दलका उम्मेदवार नयाँ नै छन् । यस्तोमा फेरि नयाा अनुहार नै संसद छिर्ने पक्का छ । निर्वाचित सांसदले मतदाताको मन जित्न सक्ने गरी काम नगरेका कारण दोहोरिन नसकेका हुन् ।