४ जेष्ठ २०८१, शुक्रबार

भूमिहीनका समस्या दलहरुको चुनावी मुद्दा मात्रै

lalpurja

रुपन्देहीमा वनको ८ हजार हेक्टरभन्दा बढी क्षेत्र अतिक्रमणमा परेको छ । जंगल कब्जा गरी बसेका यस्ता नागरिकलाई जग्गाको स्वामित्व दिने कुरा निर्वाचनका बेला जोडतोडले उठ्ने गर्छ । तर, निर्वाचन सकिएपछि कुरा सेलाउँछ, काम अधुरै हुन्छ । अहिले पनि दलहरु सुकुम्बासी समस्या समाधान गर्ने विषयलाई चुनावी मुद्दा बनाएर प्रतिस्पर्धाको तयारीमा छन् ।

रुपन्देहीको देवदह नगरपालिकामा रहेको यो बस्ती वनको क्षेत्रफल हो । वि.सं. २०२८ सालमा वन अतिक्रमण गरेर बस्ती बसेको हो । प्रारम्भमा २ सय ९२ जनाले भोग चलन गर्दै आएकोमा अहिले ठूलो बजार बनेको छ ।

बस्ती बसे यता भएका हरेक निर्वाचनमा उम्मेदवारले भोट माग्दै जग्गा धनी प्रमाणपत्र उपलब्ध गराउने आश्वासन दिए । तर, भोग चलन गरेको आधा शताब्दी नाघिसक्दा पनि पुर्जा पाएउन सकेका छैनन् । सुकुम्बासीका रुपमा जीवन गुजारिरहेका यहाँका नागरिकको अन्तिम इच्छा भनेकै जग्गा आफ्नो स्वामित्वमा ल्याउनु हो । पुराना उम्मेदवारले पटक-पटक छल गरेको भन्दै मतदाताहरु यसपटक विकल्प खोज्ने तयारी गरिरहेका छन् ।

देवदह मात्र होइन रुपन्देहीको सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका लगायतका विभिन्न क्षेत्रमा वनको ८ हजार ३ सय ४६ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । पञ्चायत व्यवस्थादेखि नै अतिक्रमणमा पर्न थालेको वन क्षेत्रमा २०४६ यता दलीय मिलेमतोमा बस्ती बसाल्ने क्रम बढेको हो । अतिक्रमित क्षेत्र भए पनि सडक, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सरकारले प्रत्येक वर्ष लगानी गर्दै आएको छ ।

अतिक्रमण गरि बसेको बस्ती भए पनि बजार मूल्यकै आधारमा घरजग्गा किनबेच भइरहेको छ । आपसी लेनदेनमा खरिदबिक्री भइरहेका यस्ता बस्तीबाट राज्यले ठूलो धनरासीको राजस्व गुमाइरहेको छ । त्यसैले निर्वाचित भएर जाने जनप्रतिनिधिहरुले सुकुम्बासी समस्यालाई प्राथमिकतामा राखी उचित व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।

    सम्बन्धित समाचार...