२३ बैशाख २०८१, आईतवार

तालमेलको चुनावले आफ्नै पार्टीको चिह्नमा भोट हाल्न नपाइने

gathabandan

सामान्यता राजनीतिक दलका कार्यकर्ताले चुनावमा आफ्नै पार्टीको चुनाव चिह्नमा मतदान गर्न खोज्छन् ।

उम्मेदवार जोसुकै भए पनि उनीहरूको पार्टीको नीति र सिद्धान्तलाई आधार मानेर मतदान गर्छन् । तर मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा कतिपय जिल्लाका गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले आफ्नै पार्टीको चुनाव चिह्नमा भोट नै हाल्न नपाउने भएका छन् ।

काँग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी गठबन्धन गरेका छन् । यस्तै प्रमुख प्रतिपक्ष एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग तालमेल गरेको छ ।

इलाम क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार छन् । यही क्षेत्रको प्रदेश सभा क मा पनि एकीकृत समाजवादीकै खिनु लवाङ लिम्बुले उम्मेदवारी दिए पछि काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले दुवैतिर आफ्नो पार्टीको चिह्नमा भोट हाल्न पाउने छैनन् ।

झापा १ को प्रतिनिधि सभामा काँग्रेसका विश्वप्रकाश शर्मा र प्रदेश क मा पनि काँग्रेसकै गोपाल तामाङ उम्मेदवार छन् । यी क्षेत्रमा गठबन्धन दलका अरूको उम्मेदवारी छैन । गोरखा क्षेत्र नं २ मा माओवादी केन्द्रका पुष्पकमल दाहाल र प्रदेश सभाको ख मा एकीकृत समाजवादीका उम्मेदवार भएपछि काँग्रेसका कार्यकर्ताले आफ्नो चुनाव चिह्नमा भोट दिन पाउने छैनन् ।

उता कञ्चनपुर–२ मा पनि प्रतिनिधिसभा र प्रदेश सभा क मा गठबन्धनका तर्फबाट काँग्रेसको मात्र उम्मेदवारी हुँदा माओवादी र एकीकृत समाजवादीका मतदाताले आफ्नो पार्टीको चुनाव चिह्नमा मत हाल्न पाउने छैनन् । मोरङ ५ मा प्रतिनिधिसभा र प्रदेशसभामा काँग्रेसका मात्र उम्मेदवार छन् ।

गठबन्धनका कारण आफ्नो पार्टीको छाडेर अर्को चुनाव चिह्नमा मतदान गर्नुपर्ने अवस्थामा कार्यकर्ता पुगेका हुन् । नेपाली काँग्रेसले प्रतिनिधिसभाको ६६ र प्रदेशसभाका १ सय ५५ स्थानमा मात्र उम्मेदवारी दिएको छ । अरू क्षेत्रमा काँग्रेसका कार्यकर्ताले अर्कै चुनाव चिह्नमा मतदान गर्नुपर्छ ।

१ सय ११ प्रतिनिधि सभा र २ सय २० प्रदेश सभा क्षेत्रका माओवादी केन्द्रका कार्यकर्ताले पनि आफ्नै चिह्नमा भोट हाल्न पाउने छैनन् । त्यस्तै एकीकृत समाजवादीका १ सय ३७ प्रतिनिधि सभा क्षेत्रका कार्यकर्ता र २ सय ९१ प्रदेश सभाका कार्यकर्ता पनि पार्टीको चुनाव चिह्नमा मतदान गर्न वञ्चित हुने छन् । सत्ता गठबन्धनका मात्र होइन, नेकपा एमाले, जसपा र राप्रपाबिच चुनावी तालमेल भएका क्षेत्रमा पनि त्यस्तै अवस्था आएको हो ।