२४ बैशाख २०८१, सोमबार

पाखा लागेका चर्चित अनुहार जो छैनन् चुनावी प्रतिस्पर्धामा !

neta

मंसिर ४ गतेको निर्वाचनका लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमाले छुट्टाछुट्टै गठबन्धनको नेतृत्व गरेर प्रतिस्पर्धामा होमिएका छन् ।

अधिकांश दल ठूला दलको नेतृत्वमा गठबन्धनमा गोलबद्ध भएपछि यसपटक कतिपय चर्चित अनुहार चुनावी प्रतिस्पर्धाबाट पाखा लागेका छन् ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा प्रत्यक्षतर्फ जित हासिल गरेका १ सय ६५ मध्ये आगामी निर्वाचनका लागि सबैजसो दलका गरेर ४९ जनाले टिकट पाएनन् । टिकट नपाएका मध्ये केही स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिए पनि ४४ जनाले भने मैदान छोडेका छन् ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वसभामुखद्वय कृष्णबहादुर महरा, अग्नि सापकोटालगायतले स्वैच्छिक रुपमै मैदान छोडेका छन् भने पूर्वमन्त्री मिनेन्द्र रिजाल, सुरेन्द्र कार्की, पार्वत गुरुङ, घनश्याम भुसाल लगायतले टिकट पाएनन् । भुसालले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ ।

गत निर्वाचनमा एमालेबाट जितेका क–कसले पाएनन् त टिकट ?
झापा– २ बाट पवित्रा निरौला खरेल
तेह्रथुमबाट भवानी खापुङ
सुनसरी– १ बाट जयकुमार राई
दोलखाबाट पार्वत गुरुङ
सिन्धुली– १ बाट गणेशकुमार पहाडी
काठमाडौं– ७ बाट रामवीर मानन्धर
मकवानपुर– १ बाट कृष्णप्रसाद दाहाल
तनहुँ– २ बाट केदार सिग्देल
कास्की– १ बाट खगराज अधिकारी
कास्की– ३ बाट जगतबहादुर विश्वकर्मा सुनार
म्याग्दीबाट भूपेन्द्रबहादुर थापा
पाल्पा– १ बाट दलबहादुर राना
रुपन्देही–१ बाट घनश्याम भुसाल
दाङ– ३ बाट हिराचन्द्र केसी
बाँके– ३ बाट नन्दलाल रोका क्षेत्री
मुगुबाट गोपालबहादुर बम
दैलेख– २ बाट राजबहादुर बुढाक्षेत्री
सुर्खेत– २ बाट नवराज रावत
बाजुराबाट लालबहादुर थापा
अछाम– १ बाट भीम रावल
बझाङबाट भैरवबहादुर सिंह
कञ्चनपुर– ३ बाट दीपकप्रकाश भट्ट

२०७४ को निर्वाचनमा माओवादीबाट निर्वाचित क–कसले पाएनन् टिकट ?
झापा– १ बाट सुरेन्द्र कार्की
सोलुखुम्बुबाट हेमकुमार राई
उदयपुर– २ बाट सुरेशकुमार राई
सिराहा– २ बाट सुरेशचन्द्र दास
सर्लाही– ३ बाट रामेश्वर राय यादव
रामेछापबाट श्यामकुमार श्रेष्ठ
सिन्धुली– २ बाट हरिबोल गजुरेल
काभ्रे– १ बाट गंगाबहादुर तामाङ
गोरखा– १ बाट हरिराज अधिकारी
रुकुम पूर्वबाट कमला रोका
बर्दिया– २ बाट सन्तकुमार थारू
सल्यान– १ बाट टेकबहादुर बस्नेत
जुम्लाबाट गजेन्द्रबहादुर महत
कालीकोटबाट दुर्गबहादुर रावत

२०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित क–कसले पाएनन् टिकट ?
मोरङ– २ बाट मीनेन्द्र रिजाल
सर्लाही– ४ बाट अमरेश कुमार सिंह
रौतहट– २ बाट मोहम्मद आफ्ताब आलम

२०७४ को निर्वाचनमा जसपा र लोसपाबाट निर्वाचित क–कसले पाएनन् टिकट ?
सप्तरी– १ बाट डा। सूर्यनारायण यादव
पर्सा– २ बाट विमल श्रीवास्तव
पर्सा– ३ बाट हरिनारायण रौनियार
सप्तरी– ३ बाट चन्द्रकान्त चौधरी
हुम्लाबाट छक्कबहादुर लामा
कैलाली– १ बाट रेशमलाल चौधरी

यस्तै यो निर्वाचनमा गत निर्वाचनबाट समानुपातिक प्रतिनिधित्व गरेका थुप्रै अनुहार बाहिरिएका छन् । जसमध्ये कांग्रेसबाट २९ जना बाहिरिएका छन् । समानुपातिकबाट निर्वाचित भएका अन्य ११ जनाले भने प्रत्यक्षतर्फबाट टिकट पाएका छन् ।

यस्तै एमालेबाट २६ जना, नेकपा माओवादी केन्द्रबाट १५, एकीकृत समाजवादीबाट १०, जसपाबाट २ र लोसपाबाट १ जनाले यसपटक दोहोरिने मौका पाएनन् । योसहित यसपटक समानुपातिकतर्फ कम्तीमा ८३ नयाँ अनुहारले प्रवेश पाउने देखिएको छ ।

टिकट छाडेका नेताहरु चुनावी अभियानमा सक्रिय

प्रमुख दलका प्रायः शीर्ष नेताहरु चुनावी प्रतिस्पर्धामा छन् । कोही समानुपातिक सूचीको शीर्ष स्थानमा छन् भने कतिपय नेता प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।

उम्मेदवार बन्नकै लागि नेताहरुको रस्साकस्सी नै चल्यो । तर, केही नेताहरू भने यसपालि चुनावी दौडमा छैनन् । पार्टीले आग्रह गर्दा पनि उम्मेदवार नै नबनेका उनीहरू निरन्तर चुनावी अभियानमा सक्रिय छन्।

आफैं उम्मेदवार नबन्दा पनि आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय नेता बिरलै छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले दश बुँदे सहमतिसँग जोडिएका कतिपय नेतालाई टिकट नदिँदा उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यलाई भने उम्मेदवार बन्न आग्रह गरे । तर, यी दुई नेताले आफू चुनावी दौडमा नरहेको बताउँदै टिकट फिर्ता गरे ।

पार्टी विभाजन हुँदासमेत एमालेमै अडिएका पूर्वमाओवादी नेता रामबहादुर थापा र बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल पनि चुनावी दौडमा छैनन् ।

माओवादी केन्द्रका केही मुख्य नेतासमेत यसपालि चुनावी मैदानमा छैनन् । कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र गणेश साह लगायत नेता टिकट नलिई चुनावी प्रचारमा लागेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा लगाएका छन् । उनले अब आफू राजकीय पदमा नरहने संकेत पनि गरेका छन् ।

जसपाबाट पार्टी विभाजन गरेर नेसपा बनाएका भट्टराईले माओवादीसँग चुनावी सहकार्य गरेका छन् । उनले आफ्नी छोरी मानुषी यमी भट्टराईलाई अघि बढाएका छन् भने पार्टीका केही नेताहरुलाई माओवादीकै चुनाव चिह्नबाट गठबन्धनमा सहभागी गराएका छन् ।

उम्मेदवार नबन्नुमा यी नेताहरूको छुट्टै कारण पनि होला । तर, टिकट नपाएकै कारण विद्रोह गर्ने र दल नै परिवर्तन गर्ने प्रवृत्ति मौलाएका बेला उम्मेदवार नबनेर पनि चुनावी अभियानमा सक्रिय हुनुलाई भने सकारात्मक मान्न सकिन्छ ।