१७ बैशाख २०८१, सोमबार

को हावी छ ? तीव्र प्रतिस्पर्धाकाे संकेत काठमाडौंमा, ठूला दलमाथि स्वतन्त्र उम्मेदवार चुनाैती बन्दै

election

आसन्न निर्वाचनमा ठूला दललाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले जित हासिल गरेपछि स्वतन्त्र उम्मेदवारको लहरै चलेको छ । सत्तारूढ गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको काठमाडौंमा ‘को हावी छ ?’ भन्ने आँकलन गर्न सक्ने अवस्था छैन ।

यद्यपि, स्वतन्त्र उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छन् । १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ भने सत्ता गठबन्धन तीन दलको समर्थनमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी मिलेर उम्मेदवार दिएका छन् । निर्वाचन क्षेत्र १ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेता प्रकाशमान सिंहको उम्मेदवारी छ ।

तीन पटकसम्म निर्वाचन जितिसकेका सिंह योपटक पुनः जित्न चाहन्छन् । उनलाई टक्कर दिन एमाले उम्मेदवार किरण पौडेल उभिएका छन् । अघिल्लो प्रतिनिधिसभाका प्रतिस्पर्धी राप्रपाका रविन्द्र मिश्र मैदानमा छन् । स्वतन्त्रबाट पुकार बम, सुशाासन पार्टीबाट रमेश खरेल, स्वतन्त्र अभियान संयोजक डम्बर साहु मैदानमा छन् ।

काठमाडौं क्षेत्र २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती, एमालेका मणिराम फुँयाल, राप्रपाका कुन्तीदेवी पोखरेल, स्वतन्त्रबाट कोषराज सुवेदी र रोहन कार्कीलगायत प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्दै छन्। यस निर्वाचन क्षेत्र महानगरपालिकाका ९ र ३२ तथा शंखरापुर नगरपालिकासँगै कागेश्वरी मनोहरा नगरपालिकाका ४, ५, ६, ७, ८ र ९ वडा क्षेत्र नम्बर २ मा समेटिएका छन्।

२०६४ मा तत्कालीन एमाले अध्यक्ष माधवकुमार नेपालले यो क्षेत्र हो । रोल्पाका झक्कु सुवेदीले नेपाललाई हराएको यो क्षेत्रमा पुनः एकपटक माओवादी केन्द्रीय सदस्य ओनसरी घर्ती चुनावी मैदानमा उत्रिएकी छन् । यो क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवारले चुनौती दिएका भए पनि घर्तीको प्रतिस्पर्धा एमालेका नेता मणिराम फुयाँलसँग हुने देखिएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारको मतका आधारमा काठमाडौं–२ मा एमालेको पक्षमा १७ हजार ३ सय २८, कांग्रेसको पक्षमा १४ हजार १ सय २८, नेकपा एकीकृत समाजवादीको पक्षमा ७ हजार ९ सय ११, राप्रपाको पक्षमा ७ हजार २ सय र माओवादीको पक्षमा ३ हजार १३१ मत रहेको थियो ।

काठमाडौं क्षेत्र ३ मा आसन्न निर्वाचनमा यो क्षेत्रबाट सत्ता गठबन्धनबाट कांग्रेसका सन्तोष चालिसे, एमालेका कृष्णबहादुर राई, राप्रपाका गणेश गिरी तथा स्वतन्त्रबाट हरिशरण लामिछाने र जगन्नाथ देवकोटालगायत उम्मेदवार छन् । यो निर्वाचन क्षेत्र महानगरपालिका ६ नम्बर, कागेश्वरी मनोहरा नगरपालिकाका १, २, ३ र गोकर्णेश्वर नगरपालिकालाई समेटेर बनेको छ । यो क्षेत्रमा भने स्वतन्त्र उम्मेदवारको त्यति प्रभाव देखिएको छैन ।

काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेस महामन्त्री गगन थापा, एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराई, राप्रपाका डा. ठाकुरमोहन श्रेष्ठ, स्वतन्त्रबाट अर्जुन प्रसाई, आकर्षण पोखरेल, राधा पोखरेल र शिवराज पोखरेललगायत मैदानमा छन् । यो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारले थोरै मात्र भोट काट्ने भएपनि एमालेका नेता भट्टराई र कांग्रेस महामन्त्री थापाबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

यो निर्वाचन क्षेत्र ४ मा काठमाडौं महानगरपालिका वडा १, ७, ८ र ३० समेटिएका छन् । बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा समेटिएका छन् । स्थानीय तह निर्वाचनको परिणाम हेर्दा क्षेत्र ४ मा एमालेको मत परिणाम पहिलो नम्बरमा देखिएको छ ।

वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा हेर्दा काठमाडौं–४ मा एमालेको पक्षमा १६ हजार ५ सय ७, कांग्रेसको पक्षमा १५ हजार ७ सय ६३, नेकपा एकीकृत समाजवादीको २ हजार ४ सय १४, राप्रपाको पक्षमा २ हजार २ सय ९३, माओवादीको पक्षमा ८ सय ४४ मत छ ।

योपटक एमालेका भट्टराई जित्ने दाउमा छन् । काठमाडौं क्षेत्र ५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले युवा उम्मेदवार प्रदिप पौडेललाई मैदानमा उतारेको छ । यो क्षेत्रबाट प्रमुख दलबाहेक स्वतन्त्र उम्मेदवारको पनि बलियो उपस्थिति छ ।

राप्रपाबाट डा. रामप्रसाद उप्रेती, स्वतन्त्रहरू रञ्जु दर्शना, विजय कँडेल, गोपीलाल न्यौपाने, मधुसुदन पाठक मैदानमा छन् । स्थानीय तहको निर्वाचन परिणाम हेर्दा यो क्षेत्रमा एमाले पहिलो नम्बरमा देखिएको छ ।

यो क्षेत्रमा एमालेका पक्षमा १४ हजार ७१५, कांग्रेसको पक्षमा १२ हजार ४३६ मत छ । स्थानीय तहमा युवाहरूले स्वतन्त्र उम्मेदवारलाई ६ हजार मत दिएका थिए । वडागत रुपमा मत परिणाम हेर्दा पनि एमाले मत अगाडी छ । यो क्षेत्रमा महानगरपालिकाका २, ३, ४ र ५ नम्बर वडा पर्छन् ।

बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ७ पनि यही क्षेत्रमा पर्छन् । टोखा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ नम्बर वडाहरू समेटेर निर्वाचन क्षेत्र नम्बर ५ निर्धारण गरिएको छ । निर्वाचन क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान, एमालेका सर्वेन्द्र खनाल र राप्रपाका विष्णुप्रसाद आचार्य प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

कांग्रेस उम्मेदवार प्रधान स्थानीयमा भिजेका नेताका रूपमा परिचित छन् भने खनाल भर्खरै राजनीतिमा डेब्यु गर्दै छन्। प्रहरी जागिरबाट अवकास प्राप्त खनालले प्रधानलाई जित्न कडा प्रतिस्पर्धा गर्नुपर्नेछ । स्थानीय तह निर्वाचन परिणामले काठमाडौं–६ मा कांग्रेसलाई पहिलो देखाएको छ । यहाँ कांग्रेसको पक्षमा १७ हजार २ सय ७७ र एमालेको पक्षमा १४ हजार ३ सय ३ मत खसेको छ ।

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिका २६, २७ र २८ वडा त्यस्तै तारकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ वडा यो निर्वाचन क्षेत्रमा पर्छन् । टोखाका १, ८, ९, १० र ११ वडा छन् । काठमाडौं निर्वाचन क्षेत्र ७ मा सत्ता गठबन्धनले मानुषी यमी भट्टराईलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । एमालेले यहाँ श्याम घिमिरेलाई उम्मेदवार बनाएको छ । राप्रपाबाट ध्रुवविक्रम मल्ल, स्वतन्त्रबाट यादवलाल कायसथ र रवीन्द्रकुमार श्रेष्ठलगायत उम्मेदवार छन् । गत स्थानीय निर्वाचनको वडागत मत परिणाम हेर्दा यो निर्वाचन क्षेत्रमा एमाले झिनो मतले मात्रै अघि छ ।

काठमाडौं १६, १७, १८ र २५ वडा निर्वाचन क्षेत्र ७ मा समेटिएका छन् । नागार्जुन नगरपालिकाका १, २ र ३ तथा तारकेश्वर नगरपाकिलाकाका ३, ४ र ५ नम्बर पनि निर्वाचन क्षेत्र ७ मा पर्छन् । यो निर्वाचन क्षेत्रमा रसुवा, नुवाकोट, गोर्खा, धादिङका नागरिक बसाइसरेर यहाँ बसोबास गर्नेको संख्या विगतभन्दा बढी देखिन्छ । काठमाडौं क्षेत्र ८ मा योपटक सत्ता गठबन्धनका तर्फबाट साविक विजेता एकीकृत समाजवादी नेता जीवनराम श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्।

उनका प्रतिस्पर्धीमा एमालेले शिवसुन्दरराज वैद्यलाई उठाएको छ भने राप्रपाका प्रकाश रिमाल र स्वतन्त्रतर्फ सुमन सायमीलगायत उम्मेदवार छन् । काठमाडौं निर्वाचन क्षेत्र ९ मा एमाले नेता कृष्णगोपाल श्रेष्ठसँग सत्ता गठबन्धनबाट माओवादी नेतृ कल्पना धमलालाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा राप्रपाका देवेन्द्र प्रधान, विवेकशील साझाका पूर्वअध्यक्ष मिलन पाण्डे, विद्या श्रेष्ठ महर्जन (स्वतन्त्र)लगायतको उम्मेदवारी छ । नेवारी बाहुल्य क्षेत्रमा धमलालाई स्थानीय मतदाता ‘टुरिस्ट’ उम्मेदवार भनिरहेका छन् ।

स्थानीय निर्वाचन परिणामअनुसार यो क्षेत्रमा एमाले पहिलो, दोस्रोमा कांग्रेस र तेस्रोमा राप्रपा र माओवादी चौथो बनेको थियो । यो क्षेत्रबाट स्थानीय वडातहको मत सर्वेक्षणमा एमालले २० हजार बढी मत ल्याएको थियो भने माओवादीले ६ सय मत ल्याएको थियो । राजधानी दैनिकमा निराजन पाैडेलले लेखेकाे समाचार अनुसार काठमाडौं महानगरपालिकाका वडा १२, १४, २१ र २२ समेटेर निर्वाचन क्षेत्र ९ बनाइएको छ । यस्तै चन्द्रगिरि नगरपालिकाका वडा १, १२, १३, १४ र १५ र नागार्जुन नगरपालिकाका ६, ७, ८, ९ र १० वडा पनि यो निर्वाचन क्षेत्रमा समावेश छन् ।

काठमाडौं क्षेत्र १० मा एमालेले हिमेश केसी र सत्ता गठबन्धनले कांग्रेसका राजेन्द्रकुमार केसीलाई उम्मेदवार उठाएका छन् । राजेन्द्र केसी यसअघि २०७४ सालको निर्वाचनमा विजयी उम्मेदवार हुन् । योपटक माओवादीबाट अञ्जना विशंखे पनि उम्मेदवार छन् ।

सत्ता गठबन्धनबाटै दुई उम्मेदवारको मत बाँडिने सम्भावना छ । गत स्थानीय तह निर्वाचन परिणाम हेर्दा पहिलोमा कांग्रेस र दोस्रोमा एमाले देखिएको छ । यो निर्वाचन क्षेत्रमा चन्द्रागिरी नगरपालिकाका २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिकाको समेटिएका छन् ।