१७ बैशाख २०८१, सोमबार

स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज पुनः प्रहरी नियन्त्रणमा

Apoorwa Kshitiz Singh

स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ ।

नेवाः समुदायको भावनामा ठेस पुर्‍याउने गरी प्रस्तुती दिएको आरोपमा पक्राउ परेका अपूर्व क्षितिजलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार फेरी नियन्त्रणमा लिएको हो । उनी भदौ १२ मा पहिलोपटक पक्राउ परेका थिए ।

भदौ २२ मा छुटेका अपूर्व क्षितिजविरुद्ध ‘अभद्र व्यवहार’को मुद्दा चलिरहेको छ । कोरोना संक्रमण पुष्टि भएपछि साधारण तारेखमा रिहा गरिएका सिंहलाई प्रहरीले फेरि नियन्त्रणमा लिदै मुद्दाको अनुसन्धान सकिएपछि अदालतमा पेस गर्नुअघि प्रहरीले अपूर्वलाई पुनः हिरासतमा लिएको हो ।

सिंहलाई हिरासतमा लिनुको कारणबारे काठमाडौंका एसएसपी भरत बोहराले पुरानै मुद्दाको निरन्तरता भएको बताएका छन् । उनले भने- ‘साधारण तारेखमा छाडेका थियौं, पुरानै मुद्दाको निरन्तरता हो । अब, सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्ने प्रक्रियामा पुगेको छ ।’

सिंहविरुद्धको मुद्दाको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको एसएसपी बोहराले बताए । बुधवार जिल्ला सरकारी वकिल कार्यालयले सिंहलाई सँगै लगेर जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्ने बताइएको छ । सरकारी वकिलले मुद्दा दर्ता गरेपछि प्रमुख जिल्ला अधिकारीले उनको मुद्दाबारे निर्णय गर्छन् ।

कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा नेवारी समुदायले आपत्ति जनाएका थिए । विवाद भएपछि सिंहले सो भिडियो युट्युबबाट हटाएका छन् । उनले क्षमायाचना पनि गरेका छन् ।