२ जेष्ठ २०८१, बुधबार

यसपटकको माओवादी घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अवधारणा

61c86f1722925 prachanda photo
फाइल फोटो

नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनमा घोषणापत्र सार्वजनिक गरेन् । बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्थानीय पालिकाले नै आ–आफ्नै ढंगले घोषणापत्र जारी गरे ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भने माओवादीले घोषणापत्र नभएर प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसपटकको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अवधारणा अघि सारेको छ ।

नेकपा माओवादी केन्द्रले तिहार अघि नै पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । तिहार अघि नै मतदाताको हात हातमा पुराउने गरी घोषणपत्र तयारीको काम भैरहेको माओवादी केन्द्रले जनाएको छ । यस पटकको घोषणापत्रलाई तीन खण्डमा विभाजन गरी सार्वजनिक गर्ने तयारीमा माओवादी छ ।

पार्टीको दृष्टिकोण र समाजवादको गन्तव्य, तत्काल एक दुई वर्षमा गरिसक्ने काम र जनजिविकाका सवाल र पार्टीले जिते पछि दिन सक्ने राहतका कार्यक्रमका साथै पाँच वर्षभित्र गरिसक्ने योजना समेटेर घोषणापत्र पत्र ल्याउने तयारी रहेको छ । तर घोषणपत्र नभनेर माओवादीले प्रतिवद्धता पत्र नाम दिने भएको छ ।

प्रतिवद्धतापत्र लेखनको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोकत्वमा रहेको १७ सदस्यीय प्रतिवद्धतापत्र मस्यौदा समिति बनाइएको छ । प्रतिवद्धता पत्रको खाका आइतवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइसकेको र उहाँले अध्ययन गरेपछि एक दुई दिनमै अन्तिम रुप दिएर छाप्ने काम हुने पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्ययले जानकारी दिनु भयो । एक दुई दिन भित्रै प्रतिवद्धता पत्रलाई अन्तिम रुपमा दिइने र एक हप्ता भित्र प्रदेश प्रदेश सम्म पुराइने सचिव उपाध्ययको भनाइ छ ।

माओवादीले अन्तिम रुप दिन लागेको प्रतिवद्धता पत्रका मुख्य अंश
–शासकीय स्वरुप परिवर्तन गर्न प्रस्ताव गर्ने
–प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली
–पाँच वर्षमा नेपालको गरिबी ८ प्रतिशतमा कायम गर्ने
–किसानको आम्दानी दोब्बर बनाउने र किसान पेन्सन कार्यक्रम
–आधुनिक बिउ बिजन र कृषिको आधुनिकीकरण गर्न पहल गर्ने
–माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क कार्यान्वयन गराउने
–प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिंदै स्वदेशमै रोजगारी बढाउने
–पूर्वाधार निर्माणको अवस्थालाई अवलोकन, नियमन, सुपरिवेक्षण गर्न विकास प्राधिकरणको अवधारणा ल्याउने
–आयात कम गर्दै निर्यात बढाउने लक्ष्य
–५ हजार मेगावाट विद्युत आन्तरिक रुपमा खपत गर्ने र थप ५ हजार मेगावाट विद्युत व्यापारको अवधारणा

घोषणपत्र तयार गर्नु अघि माओवादीले विभिन्न क्षेत्र र पेसामा आवद्ध विषय विशेषज्ञहरुसंग पनि परामर्श गरेको थियो । आएका सुझावहरुलाई पनि समेटेर घोषणापत्र तयार गरिएको माओवादीले जनाएको छ ।

तिहार अघि नै मतदाताको हात हातमा पुराउने गरी घोषणपत्र केही दिनमै सार्वजनिक गरिने बताइएको छ । विगतका निर्वाचनमा पनि दलले सार्वजनिक गरेका घोषणापत्र औपचारिकतामा सिमित हुने गरेको छ । तर यसपटक आउने घोषणापत्र व्यवहारिक रुपमा कार्यान्वयन गर्ने खालको हुने माओवादीको दाबी छ ।