१४ बैशाख २०८१, शुक्रबार

धरौटीमा रिहा भएपनि न्यायको पर्खाइमा कमेडियन अपूर्वक्षितिज ?

apporva

हास्यकलाकार अपूर्वक्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । सामाजिक सद्भाव खल्बलाएको लगायतका चार वटा अभियोग लागेका सिंहलाई अदालतले २ लाख ५० हजार धरौटीमा रिहा गरेको हो ।

हास्यकलाकार अपूर्वक्षितिज सिंहले नेवारी संस्कृतिमाथि व्यंग्य गर्दै सामाजिक रितिस्थिति र सार्वजनिक शान्ति खलल पारेको कसुरमा प्रहरीमा जाहेरी परेको थियो । उनले युट्युबमा राखेको भिडियोको विषयलाई लिएर विवाद भएको हो । यसैका आधारमा प्रहरीले उनीमाथि छानबिन गरी मुद्दा चलाएको हो । तर उनले अपलोड गरेको भिडियो हटाएर माफी मागे पनि प्रहरीले त्यसको वेवास्ता गर्दै मुद्दा चलाएकोमा आलोचना भएको थियो ।

संस्कृतिमाथि अपूर्वको स्ट्यान्डअप कमेडी नेवार समुदायका लागि सुपाच्य नहोला । तर उनको गल्ती अक्षम्य पनि होइन । अपूर्वले सीमित व्यक्तिको दबाबमा आफूमाथि आरोप लागेको बताउँदै आएका छन् ।

प्रहरीले संविधानको धारा २४ मा जातीय भेदभाव तथा छुवाछुतविरुद्ध हकको जसरी ब्यवस्था गरिएको छ धारा १७ मा स्वतन्त्रताको अधिकार पनि सुनिश्चित छ भन्ने चाहिँ भुलेको हो कि भन्ने देखिएको छ ।

जातीय घृणा फैलाउने नियोजित तत्त्व मात्रै हैन, गम्भीर प्रकृतिका अपराधमा संलग्नहरुले पनि राजनीतिक संरक्षणमा चुनावमा उमेद्वारसम्म बन्ने प्रवृत्ति मौलाई रहेको अवस्थामा एउटा कलाकारले गरेको गल्तीमा क्षमा माग्दासमेत हथकडी लगाएर हिरासतमा राख्नु र चार वटा आरोपमा मुद्दा चलाइनु कति न्यायोचित हुन्छ ? अब यो विषय अदालतमा पुगिसकेकाले त्यसको टुंगो त्यही नै लाग्ने छ ।

हास्यकलाकारले आफ्ना प्रस्तुतीमार्फत जातजातिलाई होच्याउने र उडाउने गर्न हुँदैन । यस्ता विषयलाई रोमाञ्चक ढंगले व्यक्त गर्न सक्छन् । तर अक्षम्य अपराध गरे जसरी लगाइएका आरोपले भने नेपाली समाजको सद्भावना बिथोल्ने मलजल त पुग्दैन? सोचनिय पक्ष छ ।

    सम्बन्धित समाचार...