४ जेष्ठ २०८१, शुक्रबार

टिकट छाडेका नेताहरु चुनावी अभियानमा सक्रिय

Capture 5

आफैं उम्मेदवार नबन्दा पनि आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय नेता बिरलै छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दश बुँदे सहमतिसँग जोडिएका कतिपय नेतालाई टिकट नदिँदा उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यलाई भने उम्मेदवार बन्न आग्रह गरे । तर, यी दुई नेताले आफू चुनावी दौडमा नरहेको बताउँदै टिकट फिर्ता गरे ।

पार्टी विभाजन हुँदासमेत एमालेमै अडिएका पूर्वमाओवादी नेता रामबहादुर थापा र बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल पनि चुनावी दौडमा छैनन् ।

माओवादी केन्द्रका केही मुख्य नेतासमेत यसपालि चुनावी मैदानमा छैनन् । कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र गणेश साह लगायत नेता टिकट नलिई चुनावी प्रचारमा लागेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा लगाएका छन् । उनले अब आफू राजकीय पदमा नरहने संकेत पनि गरेका छन् ।

जसपाबाट पार्टी विभाजन गरेर नेसपा बनाएका भट्टराईले माओवादीसँग चुनावी सहकार्य गरेका छन् । उनले आफ्नी छोरी मानुषी यमी भट्टराईलाई अघि बढाएका छन् भने पार्टीका केही नेताहरुलाई माओवादीकै चुनाव चिह्नबाट गठबन्धनमा सहभागी गराएका छन् ।

उम्मेदवार नबन्नुमा यी नेताहरूको छुट्टै कारण पनि होला । तर, टिकट नपाएकै कारण विद्रोह गर्ने र दल नै परिवर्तन गर्ने प्रवृत्ति मौलाएका बेला उम्मेदवार नबनेर पनि चुनावी अभियानमा सक्रिय हुनुलाई भने सकारात्मक मान्न सकिन्छ ।