१८ बैशाख २०८१, मंगलवार

अझै प्रतिगमनको खतरा कायम रहेको प्रधानमन्त्री देउवाको दाबी

PM deuba
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा प्रतिगमनको खतरा अझै पनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि दलहरु मिलेर अघि बढ्नु विकल्प नभएको बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारको परिचयात्मक कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले मिलेर निर्वाचन लड्ने, लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौकाको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने बताउनुभयो । उहाँले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके स्थायित्व नआउने र देश निरंकुशता र अराजकताको भुमरिमा फस्ने दाबी गर्नुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेकाले सत्तारुढ गठबन्धन मा आवद्ध दलका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।

मुलुकको स्वाभिमानलाई उचो राक्न र जनताको अधिकारलाई सुनिश्चित गर्न पनि सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्नेमा नेपालको जोड थियो ।