२६ बैशाख २०८१, बुधबार

पुरानै अनुहार दोहोरिए लुम्बिनी प्रदेशसभाको चुनावमा

lumbini

एक पटक लाभको पद लिएपछि होस् वा चुनावमा उम्मेदवार भएपछि, सधैंभरि त्यही पदमा रहने लालसा नेपालको राजनीतिमा नौलो होइन । यही प्रवृत्ति प्रदेशमा पनि देखिएको छ । लुम्बिनी प्रदेशसभामा पनि यसअघिका अधिकांश प्रदेशसभा सदस्य यसपालि पनि चुनावी मैदानमा उत्रिएका छन् ।

लुम्बिनी प्रदेशमा ५२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । जसमा २०७४ मा प्रत्यक्षमा चुनाव जितेका ४२ प्रदेशसभा सदस्य यसपालि पनि उम्मेदवार बनेका छन्। २०७४ को निर्वाचनमा ३० सीट जितेको एमालेले आफ्ना २१ सांसदलाई दोहोर्‍याएर उम्मेदवार बनाएको छ ।

मुख्यमन्त्री बनेका दाङका शंकर पोखरेल र पाल्पाका नारायण आचार्य संघमा गए पनि कोही मुख्यमन्त्री त कोही मन्त्री बन्ने होडमा चुनावी मैदानमा छन् ।

माओवादी केन्द्रका यसअघिका १२ सांसदमध्ये दधिराम न्यौपाने र दिनेश पन्थी एमालेबाट उम्मेदवार बनेका छन् । दिपेश थारु स्थानीय तहमा प्रमुख भएका छन् । बाँकी ९ मध्ये ७ जना दोहोरिएका छन् । नेताहरु प्रदेश सभालाई विगतको अनुभवसहित परिपक्व हिसाबले चलाउन उम्मेदवारी दोहोर्‍याएको टिप्पणी गर्छन् ।

यसअघि ७ सीट जितेको कांग्रेसले सबैलाई दोहोर्‍याएर उम्मेदवार बनाएको छ । नागरिकको मन जित्न, प्रभाव र काम देखाउन उम्मेदवार दोहोरिएको कांग्रेसको दावी छ ।

प्रत्यक्षतर्फ ३ क्षेत्र जितेको तत्कालीन संघीय समाजवादी पार्टीका सबै पूर्वसांसद पुनः चुनावी मैदानमा छन् । सबैजसो उम्मेदवार दोहोर्‍याउने प्रवृत्तिले दलमा योगदान गरेका कार्यकर्ताले अवसर नपाउने अवस्था रहन्छ भने मतदाता नयाँ उम्मेदवार छान्न पाउने अधिकारबाट वन्चित भइरहनेछन्, जुन गलत हो ।