२६ बैशाख २०८१, बुधबार

पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री बन्दा आफ्नो क्षमता देखाएको बताउँदै संघमा पुगेर प्रदेशको अधूरा काम पूरा गर्ने बताए

Prthiv subba Gurung
फाइल फोटो

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रदेशका अधुरा काम पूरा गर्ने बताएका छन् । लमजुङमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमम गुरुङले आफू प्रदेशमा गएर पनि आफ्नै प्रस्तावमा देवप्रसाद गुरुङलाई संघमा पठाएकोमा अहिले उनी आफ्नैविरुद्ध आएको बताए । 

नेता गुरुङले सुख,दुःख, घामपानी, रातदिन, जित वा हार, उकालीओराली जुनसुकै अवस्थामा जनतासँग रहेको उल्लेख गरे । ६ पटक चुनाव लड्दा दुईपटक मात्र जितेको र नागरिकलाई खास सेवा गर्न पाएको समय ३४ महिना मात्र रहेको उनकाे भनाइ थियाे ।

गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दा आफ्नो क्षमता देखाएको बताउँदै उनले प्रदेशका चार लाख ७८ हजार घरधुरीमै घरघरमा धारा पुर्‍याउने काम सुरु गरेको दाबी गरे । संघ सरकारले पनि दुई वर्षपछि मात्र उक्त अभियान अवलम्बन गरेको उनकाे भनाइ थियाे । 

पुनः मुख्यमन्त्री बनेर अधूरा काम गर्ने इच्छा भए पनि तल्लो तहमा लड्ने र काम गर्ने अन्य रहेको भन्दै पार्टी नेतृत्वले माथि आउनुपर्छ भनेपछि संघमा भिडेको उनले बताए । 

गण्डकी प्रदेशका ८५ पालिकाको केन्द्रमा ८ मिटरको फराकिलो कालोपत्रे सडक बनाउने अभियान थालेकोमा अहिले गठबन्धनको सरकारले अवरुद्ध पारेको उनले आराेप लगाए । आफूले लमजुङमा चार दशकभन्दा बढी समय राजनीतिमा सक्रिय रहेको भन्दै कांग्रेसको वर्चश्व रहेको लमजुङमा एमालेको झण्डा गाढ्न सफल भएकोसमेत बताए  ।