२० बैशाख २०८१, बिहीबार

आफ्नै कमजोरीमा गुम्यो एमाले राष्ट्रियसभामा एक सीट

khimlal basudev uml

नेकपा एमालेको नेतृत्वको कमजोरीका कारण राष्ट्रियसभामा एमालेको एक सीट गुमेको छ । राष्ट्रियसभामा एमालेका सचेतक खिमलाल भट्टराईलाई दिइएको टिकट बासुदेव घिमिरेले पाएपछि एमालेले राष्ट्रियसभामा एक सिट गुमाएको हो ।

राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर रुपन्देही क्षेत्र नम्बर ५ मा उम्मेदवार बन्न गएका एमाले नेता खिमलाल भट्टराई उम्मेदवार बन्न पाउनुभएन । सुरुमा एमालेले बासुदेव घिमिरेलाई टिकट दिएको थियो तर, पछि घिमिरेको उम्मेदवारीको निर्णयमा त्रुटी भएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई उम्मेदवार बनाउन अर्को पत्र पठाउनुभयो ।

विवाद सतहमा आएपछि निर्वाचन आयोगले पहिले उम्मेदवारी दर्ता गरेका बासुदेव नै आधिकारिक उम्मेदवार हुने निर्णय गरिदियो । यो निर्णयसँगै एमालेले राष्ट्रियसभामा समेत एक सिट गुमाउनुपर्यो भने भट्टराई प्रतिनिधिसभाको उम्मेदवार पनि बन्न पाउनुभएन ।

यो निर्णय नेतृत्वको अपरिपक्वता भएको भट्टराईले स्वीकार गर्नुभएको छ । उहाँले नेतृत्वले समयमै निर्णय नगर्दा आफू हाललाई संसदीय राजनीतिबाट आफू बाहिरिनुपरेको गुनासो गर्नुभएको छ ।

निर्वाचन ऐनअनुसार दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोनयनपत्र पेश भएमा पहिले मनोनयन पत्र दर्ता गर्ने व्यक्तिको मनोनयन कायम हुने उल्लेख छ । त्यसो त घिमिरेले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा दावी गर्नुभएको थियो ।

एमालेले राप्रपासँग तालमेल गर्दा दीपक बोहोरालाई छोड्दा घिमिरे ५ तर्फ जानुपरेको हो । २०७४ घनश्याम भुसालको अडानका कारण तिलोत्तमाका नगरपालिकाको मेयरको टिकट पाउनुभएका घिमिरेले प्रतिनिधिसभामा विष्णु पौडेल पक्षमा लागेका कारण टिकट पाएको एमाले वृत्तमा चर्चा हुन्छ । योसँगै घिमिरे अब क्षेत्र नम्बर ५ का उम्मेदवार बन्नुभएको छ ।

गठबन्धनभित्र दल र उम्मेद्वार धेरै भएर समस्या आउनु स्वभाविक मान्न सकिएला । तर, पार्टीका पदाधिकारी सहितका दर्जन नेता रहेको रुपन्देहीमा यो हदको अपरिपक्कवता पत्रमा भनिएजस्तै भूलबस हो या, नियोजित भन्नेमा संशय छ ।