१ जेष्ठ २०८१, मंगलवार

कडा र रोमाञ्चक त्रिपक्षीय प्रतिस्पर्धा सप्तरी २ को चुनावमा

upen ck

मधेस आन्दोलनबाट स्थापित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधि सभा सदस्यका लागि यसपटक पनि सप्तरी–२ बाटै प्रतिस्पर्धा गर्दैछन् । उनले एमालेसँगको तालमेलमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै सत्ता गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् । यी दुवै गठबन्धका उम्मेदवारलाई टक्कर दिन पहिलोपटक चुनावको अनुभव लिँदै गरेका जनमत पार्टीका अध्यक्ष सिके राउतले उम्मेदवारी दिएका छन् । यी तिनै जना उम्मेदवारबीच कडा र रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ ।

उम्मेदवार बनेका सबैको प्राय एकै खालका एजेन्डा छन् । संघीयताको रक्षा, समाजिक न्यायको प्राप्ति, आर्थिक विकास र समृति, विभेद र असमानता अन्त्य, किसानका समस्या समाधान, रोजगारीको ग्यारेन्टी जस्ता विषय नै चुनावी एजेन्डा छन् ।

सप्तरी क्षेत्र नम्बर २ मा ९५ हजार ३ सय ९४ मतदाता छन् । गत स्थानीय तहको चुनावमा वडाहरुको मत परिणाम हेर्ने हो भन्ने सबभन्दा अगाडि जसपा छ । तर सत्ता गठबन्धका दलहरुको मत जोड्ने हो भने लोसपा पनि बलियो अवस्थामा देखिन्छ ।

दुई वटा पार्टीका अध्यक्षको ब्यक्तिगत र सिद्धान्तको आधारमा हुने प्रतिस्पर्धाकै बीच सत्ता गठबन्धनबाट भएको बलियो उपस्थितिले यो क्षेत्रमा त्रिपक्षी प्रतिस्पर्धा हुने निश्चित जस्तै छ ।