१५ चैत्र २०८०, बिहीबार

पदका लागि मात्रै राष्ट्रिय सहमति नखोजौँ : अध्यक्ष राउत

CK Raut 1

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले पदका लागि नभई देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पदका लागि नभई देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यक्ता रहेकोमा जोड दिए । उनले राष्ट्रिय सहमति केका लागि हो ? भन्दै सदनमा प्रश्नसमेत गरे । उनले मधेसवादी दलहरुलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै प्रश्न गरे । राउतले अनुहार, जाति र समुदायभन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गरे ।

‘सभामुखको निर्वाचनको रुपमा विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ । राष्ट्रिय सहमतिको लागि कुरा ल्याए । यो केका लागि पदको लागि मात्रै हो की ? देशको संकटको लागि पनि राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन, पदको लागि मात्रै किन कुरा ? दलभन्दा माथिको कुरा गरिन्छ,’ उनले भने, ‘कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी पार्टीलाई धकेलेर खोज्नुभएको हो । हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरु एउटा अनुहार, जातिको मुखौटोभन्दा माथि उठ्न सक्नुहुन्छ की हुँदैन ? त्यो ठूलो कुरा हो ।’

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरुलाई सम्मान गर्न संसदमा १ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए । जसमा संसदमा उपस्थित अधिकांश दल र सांसदहरुले १ मिनेट उठेर मौन धारण गरेका थिए ।