१ जेष्ठ २०८१, मंगलवार

भत्ता खाने उमेरका नेतालाई सत्ताको रहर: उम्मेदवार बनेका ठूला दलका धेरै नेता ६८ वर्ष माथिका

all party

राजनीतिमा युवा नेतृत्वको बहस सधैंजसो हुने गरेको छ । त्योबेला विश्वका अन्य मुलुकमा प्रधानमन्त्रीदेखि राष्ट्रपतिसमेत भैसकेका नेताहरुलाई उदाहरण दिने गरिन्छ। तर जब निर्वाचन आउँछ, तब भत्ता खाने उमेरका नेतालाई सत्ताको रहरले छाड्दैन । मंसिर ४ गते हुने निर्वाचनमा पनि मुलुक चलाउने आकांक्षासहित उम्मेदवार बनेका ठूला दलका धेरै नेता ६८ वर्ष माथिका छन्।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा ७६ बर्षका भए ।

देउवाले गृह जिल्ला डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले यसअघि २०४८ यताका सबै संसदीय निर्वाचनमा डडेलधुराबाटै चुनाव जितेका थिए । अहिलेसम्म संसदीय चुनाव नहारेका देउवा निर्वाचन पछि छैटौं पटक प्रधानमन्त्री बन्ने दाउमा छन् ।

झापा ५ बाट उम्मेदवारी दर्ता गराएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ७१ वर्षका भए । तीन पटक प्रधानमन्त्री बनेका ओलीले २०७४ सालको निर्वाचनपछि प्रतिनिधिसभालाई २-२ पटक विघटनको प्रयास गरेका थिए । उनलाई आगामी निर्वाचनबाट समेत प्रधानमन्त्री बनाउने गरी एमालेले अघि सारेको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ७० वर्षका भए । उनले प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट १ बाट उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा काठमाडौं २ बाट जितेका नेता नेपाल एमाले विभाजनपछि गृह जिल्ला रौतहटबाट चुनाव लड्दै छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ७८ वर्षका भए । उनी तनहुँ-२ बाट निर्वाचन लड्दैछन् । पौडेलले अघिल्लो निर्वाचनमा तनहुँबाटै पराजय भोगेका थिए ।

सम्भवतः उमेरका हिसाबले पार्टी नेतृत्व सम्हालेका मध्ये सबैभन्दा पाका उम्मेदवार लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर हुन् । महोत्तरी-३ बाट उम्मेदवार बनेका उनी ८३ वर्ष पुगिसकेका छन् ।

अर्थात ठूला पार्टीको नेतृत्व तहमा रहेका अधिकांश नेता यसपाली पनि उम्मेदवार छन्। उनीहरु धेरैजसो वृद्ध उमेर हुन् । वृद्दभत्ता खाने उमेरलाई आधार मान्ने हो भने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मात्रै भत्ता लिने उमेर पुग्न एक वर्ष बाँकी छ । अर्थात गोरखा– २ बाट प्रतिस्पर्धामा उत्रेका दाहाल ६७ वर्षका भए । अघिल्लो निर्वाचनमा उनले चितवनबाट चुनाव जितेका थिए ।

एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम १ बाट उम्मेदवारी दर्ता गराएका छन् । २०४८ साल यताका संसदीय निर्वाचनमा भाग लिँदै आएका खनाल ७३ वर्षका भए ।

त्यसो त काठमाडौं ५ बाट उम्मेदवारी दर्ता गराएका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल ६९ वर्षका भए । उनी यसअघि सोही क्षेत्रबाट जितेका थिए ।

संविधानसभा सभाध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङ ७० वर्षका पुगे । उनले इलाम–२ बाट उम्मेदवारी दिएका छन् ।

मु्ख्य दलका ६८ वर्ष माथिका अधिकांश उम्मेदवार भने पुरुष नेता हुन् ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ७३ वर्ष पुगे । उनले झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका छन् । ७२ वर्षीय कांग्रेस नेता शेखर कोइरालाले मोरङ–६ बाट उम्मेदवारी दिएका छन् ।

राजनीतिमा पुस्तान्तरणको कुरा गर्ने तर युवा उम्मेदवारलाई अवसर दिनुभन्दा आफैं सत्तामा टासिन खोज्ने प्रवृतिलाई यो निर्वाचनका प्रमुख दलका शीर्ष नेताहरुको उम्मेदवारी मोहले पुष्टि गरेको छ।