११ बैशाख २०८१, मंगलवार

थप २१ जना संक्रमित गण्डक अस्पतालबाट डिस्चार्ज

Covid 19 Patient Discharge form Gandak Hospital Parsa 1230

वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा रहेका ३० कोरोना संक्रमित मध्ये २१ जना संक्रमित मंगलबार डिस्चार्ज भएका छन्। निको भएर डिस्चार्ज हुनेमा १६ पुरुष ५ महिला छन्।

नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएका हुन् । उनीहरुलाई राति नै डिस्चार्ज गरिएको छ ।

अस्पतालमा भर्ना भएदेखि दुई पटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । मंगलबार राति डिस्चार्ज हुने संक्रमित सबै पर्साका हुन्।

गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए ।

पछिल्लो ३ दिनयता पर्साको नारायणी र गण्डक अस्पतालको आइसोलेसन वार्डबाट ९१ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्। ६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएकोमा अस्पतालमा अब ९ जना संक्रमित उपचाररत छन् ।

यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए ।

उनीहरूलाई गत वैशाख २७ र ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

पर्सामा ३ हजार ८० जनाको थ्रोट स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा २९ सय ५५ जनाको रिपोर्ट आइसकेको छ । मंगलबार १ सय जनाको नमुना संकलन गरिएको छ ।

कोरोना संक्रमितको उपचारको लागि पर्सामा एक सय २८ बेड क्षमताको आइसोलेसन बेड रहेकोमा ७० बेड क्षमताको नारायणी अस्पताल खाली छ । कोरोना संक्रमित डिस्चार्ज भएपछि जनरल सेवा सञ्चालन गर्ने उद्देश्यले मंगलबार स्यानिटाइजेसन गरिएको छ । गण्डक कोरोना विशेष अस्पतालमा ५० र पोखरिया नगरपालिकामा ८ बेडको आइसोलेसन छ । हालसम्म आरडीटी टेस्ट २ हजार ४ सय ६६ जनाको गरिएको छ ।

पर्साका १४ वटा पालिकामा सञ्चालित २९ क्वारेन्टाइनमा ३४ महिला र ४ सय ९८ पुरुष सहित ५ सय ३२ जना शंकास्पद संक्रमितलाई राखिएको छ । भारतबाट आएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वाब संकलन गरिएको तर रिपोर्ट नआएका शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

पर्सामा क्वारेन्टाइनको कुल बेड क्षमता १२ सय ६५ छ । क्वारेन्टाइनमा १४ दिन पुरा गरी पीसीआर परीक्षण रिपोर्ट नगेटिभ आएपछि ४ सय २५ जनालाई होम क्वारेन्टाइनमा बस्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।