१६ बैशाख २०८१, आईतवार

जित्नैपर्ने मनसायले नीति, सिद्धान्त र विचारभन्दा बाहिर गठबन्धन र तालमेल

localElectionAllParties

मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेशका सभा निर्वाचनका लागि उम्मेदवारी दिएर दलहरु चुनावी मैदानमा उत्रिइसकेका छन् । तर सवैजसो दल र तीनका नेताहरुले नीति, सिद्धान्त र विचारभन्दा पनि जित्नैपर्ने मनसायले गठबन्धन र तालमेलका साथ उम्मेद्वारी दिएका छन् । चुनावी मुद्दा कसैको पनि प्राथमिकतामा परेको छैन ।

जसरी पनि जित्नैपर्ने ध्याउन्नमा रहेका दलहरुले सिद्धान्त, नीति र विचार विपरित फरक धारसँग गठजोड गरिरहेका छन् । नागरिकता विधेयकको समर्थन गर्दै आएको जसपा र विरोधमा रहेको एमाले तालमेलमा चुनाव लड्दैछन् ।

लोकतान्त्रिक विचार बोक्ने कांग्रेस र साम्यवादी विचारका माओवादी केन्द्र तथा एकीकृत समाजवादी एउटै कित्तामा छन् । अझ हिन्दु राज्यको वकालत गरिरहेका कमल थापा एमालेको सूर्य चिन्हबाट चुनाव लड्दैछन् । र पार्टीको भावना विपरित नै गएर केपी ओली एकलौटी रुपमा थापालाई साथ दिएका छन् । तर यी दलसँग कुनै ठोस चुनावी मुद्दा छैन ।

gath

मतदातासामू लैजाने राजनीतिक, सामाजिक वा आर्थिक एजेण्डाभन्दा गठबन्धन र तालमेललाई आफ्नो मुख्य शक्तिको रुपमा अगाडि सारिरहेका छन् । विचार, नीति र सिद्धान्तविपरीतको गठबन्धन र समझदारीमात्रै नभई पार्टी त्याग र प्रवेश गर्ने लहर नै चलेको छ।

स्थानीय तहको निर्वाचनपछि त दलहरुले गठबन्धन अपरिहार्य जस्तै ठानेका छन् । निर्वाचन जित्न आपसी तालमेललाई जोड दिँदा मतदाताको स्वनिर्णयको अधिकारमा पनि दलहरुले हस्तक्षेप गरिरहेका छन् । जनताको जीवनस्तरसँग जोडिएका विषयवस्तुलाई दलहरुले घोषणापत्रमै सीमित गर्ने गरेका छन् ।

पार्टी संगठन र नेतृत्वको काम चुनावमा सकेसम्म आफ्ना पक्षमा मतदाता बढाउने, नसके भएकालाई सुरक्षित गर्ने हो। तर राजनीतिक आस्था र नैतिक आदर्शविपरीत गरिने गठजोडले दलहरुमा वैचारिक संकट प्रष्ट्याएको छ ।

दलहरुको प्राथमिकतामा सत्ता, शक्ति र साधनस्रोतको पहुँचबाहेक अरु केही छैन भन्ने कुरा अहिलेका गठजोड र तालमेलले नै देखाइरहेका छन् । जबसम्म दलहरुमा यस्तो प्रवृत्ति रहन्छ, नागरिकका मुद्दा छायाँमै परिरहन्छन् ।

को-को नेता बाहिरिए निर्वाचनबाट, यस्तो छ सूची

नेपालको २०६२/६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिनुभएका केही राजनीतिक दलका शीर्ष नेता यसपाली भने कुनै पनि उम्मेदवारीमा देखिनुभएन ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उहाँहरुमध्ये कतिपयले आफ्नो दलबाट टिकट पाउनुभएन भने केही स्वेच्छाले सक्रिय राजनीतिबाट बाहिरिनुभएको हो । निर्वाचनका लागि आइतबार प्रतिनिधिसभाका एक सय ६५ र प्रदेशसभामा तीन सय ३० निर्वाचन क्षेत्रका लागि सयौँले उम्मेदवारी दिनुभएको छ । त्यसमा कतिपय चर्चित अनुहार देखिनुभएन ।

नेपाली कांग्रेसबाट यस निर्वाचनमा शीर्ष नेता केबी गुरुङ, डा रामशरण महत, डा मीनेन्द्र रिजाल, सुनीलकुमार भण्डारी, मन्त्री उमा रेग्मी, मीना पाण्डे, सीतादेवी यादव, महेश आचार्य, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, डा अमरेशकुमार सिंह, मानबहादुर विश्वकर्मा, शेषनाथ अधिकारी, हरि नेपाल, अर्जुन खड्का, हरिनाथ बास्तोलालगायत उम्मेदवारका रुपमा देखिनुभएन ।

यसैगरी नेकपा (एमाले) नेता डा भीम रावल, उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्य राधा ज्ञवाली, विन्दा पाण्डे, घनश्याम भुसाल(पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार), थममाया थापा, शिवमाया तुम्वाहाम्फे, सीताकुमारी पौडेललगायत पनि कुनै पनि उम्मेदवारका रुपमा देखिनुभएन ।

निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट सभामुख अग्निप्रसाद सापकोटा, उपाध्यक्ष कृष्णबहादुर महरा, नेताहरु हरिबोल गजुरेल, मुख्यमन्त्री त्रिलोचन भट्ट र कुलप्रसाद केसीलगायतको पनि उम्मेदवारी देखिएन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि यस निर्वाचनमा उम्मेदवार बन्नुभएन ।

निर्वाचन आयोगका अनुसार आइतबार भएको मनोनयनपत्रमा दर्ता प्रक्रियामा प्रतिनिधिसभातर्फ पुरुष दुई हजार दुई सय ६९ र महिला दुई सय ३३ गरी कूल दुई हजार पाँच सय दुई जना उम्मेदवार रहेका छन् । यस्तै प्रदेशसभातर्फ पुरुष तीन हजार एक सय ३९, महिला दुई सय ९६ र एक अन्य गरी कूल तीन हजार चार सय ३६ उम्मेदवार रहेका छन् ।

यस निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता सङ्ख्या छ । यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार आठ सय छ, महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ छ । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचनका लागि आयोगले यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी एक सय ६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।