१६ बैशाख २०८१, आईतवार

बारम्बार टुरिष्ट उम्मेदवारलाई गोर्खालीको भोट !

310624331 635853711238362 3644094826088677170 n

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यसै पनि राजनीतिमा अस्थिरको आरोप लाग्ने गरेको छ।

स्वयम् प्रचण्ड र उहाँका समर्थकले भनेउहाँ आवश्यकताअनुसार गतिशील भएको दाबी गर्छन् । तर सत्ता र शक्तिका लागि जस्तो सुकै जोखिम लिन माहिर पूर्व प्रधानमन्त्री प्रचण्ड चुनावी राजनीतिमा भने अस्थिरताको मानक नै बन्नु हुने भएको छ।

२०५२ साल फागुन १ गते सुरु भएको माओवादी विद्रोहका सुप्रिम कमाण्डर प्रचण्डले २०६४ सालको संबिधानसभा निर्वाचनमा माओवादीको लडाईको उद्गम थलो मानिएको रोल्पा र काठमाडौँ १० बाट निर्वाचन जित्नुभएको थियो ।

कास्कीको ढिकुरपोखरीबाट चितवन बसाई सरेका प्रचण्डले माओवादीको रापताप र युद्धमा फर्किने धाक र धम्कीका बीच दुबै क्षेत्रमा चुनाव जितेपनि ७० को संबिधानसभा चुनाव उहाँका लागि सकसको यात्रा बन्यो ।

काठमाडौँ १० को साविक क्षेत्रमा काँग्रेसका सामान्य नेता राजन केसीसँग पराजित प्रचण्डलाई सिराहा ५ मा चुनाव जित्न कम्ति सकस परेन । एमाले अध्यक्ष ओलीको भाषामा त बत्ती निभेका बेला प्रचण्डले सिराहाबाट संबिधानसभाको टिकट काट्नुभएको हो ।

राजनीतिक निर्णय र लेनदेनमा जसरी प्रचण्डमाथि बारम्बार अस्थिर र अविश्वासिलोको आरोप लाग्छ । उहाँको निर्वाचन क्षेत्रका मतदाताकालागि त उहाँ चुनाव उठ्दै भाग्दै गर्ने छवीको नेता बन्न थाल्नुभएको २०७० पछि नै हो । २०७४ मा ठुलो बाम घटक एमालेसँगको चुनावी गठबन्धनमा चितवन ३ मा चुनावी बसाइ सराइ गरेका प्रचण्डले चार दलीय गठबन्धनका तर्फबाट चुनाव लड्दा पनि यो पटक सुरक्षित देख्नु भएन र गोर्खा २ सर्नुभयो ।

चितवन तीनमा निर्वाचित भएपछि बारम्बार चुनावी गुँड सार्ने बानी लागेका प्रचण्ड अडिने आशा गरिएको थियो । छोरीलाई दुईपटक भरतपुरको मेयर बनाएका, चितवनमा प्रसस्तै बजेट पारेका नेताले पछिल्लोपटक पुस्तौनी जमिनमा एकतलाको भब्य महल पनि बनाउनुभएको थियो । आफ्नो घर आफै उद्घाटन गरेपछि प्रचण्डले चितवन छाडेर कतै नजाने बताउनुभएको थियो ।

उहाँका छिमेकीले पनि ठूलो नेता आफ्नो छिमेकमा आएको र उहाँले स्थायी रुपमा बस्ने बचन दिएको भन्दै खुसी ब्यक्त गरेका थिए ।

प्रचण्डकै भाइ तथा माओवादी केन्द्र बागमतीका नेता नारायण दाहालले समेत प्रचण्डले चितवन छाड्ने हल्लामा सत्यता नभएको र उहाँ चितवनबाटै निर्वाचन जित्ने दावी गर्नुभएको थियो ।

तर नानीको बानी घिउ खाने भनेजस्तै चुनावी क्षेत्र चहार्ने बानी लागेका प्रचण्ड यो पटक गोरखाको क्षेत्र नम्बर दुईमा बाबुराम भट्टराईको आतिथ्यतामा पुग्नुभएको छ। छोरीका लागि चुनावी क्षेत्र नै सौदावाजी गरेका भट्टराइको मन्त्रणा र चितवनमा निर्वाचन जित्ने सम्भावना क्षीण हुँदै गएपछि प्रचण्डले चुनावी गुँड गोरखा सार्नुभएको हो।

चुनाव अघि बारम्बार चितवनबाटै चुनाव लड्ने उद्घोष गर्नुभएका दाहाल चितवनमा जीतको सुनिश्चित नभएरै गोर्खा उक्लिनुभएको हो । तर प्रश्न छ, बारम्बार टुरिष्ट उम्मेदवारलाई मत दिन बाध्य गोरखा दुईका मतदाताले यो पटक प्रचण्डलाई मत हाल्लान् या उम्मेदवारकारुपमा स्वीकार्लान् पनि । तर के अर्कोपटक पनि प्रचण्ड गोरखालाई नेपाल एकिकरण थालनी भएको क्षेत्र भनेरै निर्वाचनमा उठ्नुहोला या अर्को कुनै सुरक्षित क्षेत्र खोज्दै भौतारिनु होला ?