१५ बैशाख २०८१, शनिबार

रोचक प्रतिस्पर्धा : सुदूरपश्चिमका यी क्षेत्रमा

ele sudur

आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा एक सय ४३ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये केही क्षेत्रमा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । 

कैलाली-५ मा चारजनाको रोचक प्रतिस्पर्धा

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलाली-५ मा प्रतिनिधिसभाका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेपाली कांग्रेसका पूर्व नेता तथा संविधानसभा सदस्य पुष्कर नाथ ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनीसँगै एमालेबाट निवर्तमान प्रतिनिधिसभा सदस्य नारदमुनि राना, कांग्रेसबाट निवर्तमान प्रदेश सभा सदस्य डिल्लीराज पन्त र नागरिक उन्मुक्ति पार्टिबाट लक्ष्मण थारुले उम्मेदवारी दर्ता गराएका छन् । 

कैलाली-५ मा यी चार नेताबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । लक्ष्मण थारु अघिल्लो निर्वाचनमा जेलबाटै निर्वाचन लड्दासमेत ६ हजार बढी मत ल्याएका थिए । यसपटक उनी जनतासँग प्रत्यक्ष रूपमा भेटघाट गरिरहेका छन् । यसपटक उनले अघिल्लो निर्वाचको भन्दा भोट बढाउने देखिन्छ ।

नेपाली कांग्रेसले कारवाही गरेपछि स्वतन्त्र उम्मेदवारी दिएका पुष्करनाथ ओझालाई पनि बलियो उम्मेदवारका रूपमा हेरिएको छ । उनी २०७० को संविधानसभा निर्वाचनमा कैलाली-६ (हालको ५ नम्बर क्षेत्र) बाट निर्वाचित भएका थिए ।

२०७४ को निर्वाचनमा कैलाली-५ बाटै निर्वाचित भएका नारदमुनि रानाले यसपटक पनि उम्मेदवारी दर्ता गराएका छन् । गत निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई पराजित गर्दै उनी विजयी भएका थिए । चौधरी समुदायको भोटमा पकड जमाउँदै आएका रानालाई यसपटक पनि बलियो उम्मेदवारका रूपमा हेरिएको छ । नारदमुनि रानालाई जसपाले पनि सघाउने छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बन्दै कांग्रेस नेता डिल्लीराज पन्तले पनि कैलाली-५ बाट मनोनयन दर्ता गराएका छन् । 
२०७४ को निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रको बलियो तालमेलका बीच पनि कांग्रेस एक्लै चुनावमा होमिँदा प्रदेश सभा निर्वाचनमा विजयी भएका पन्तलाई यसपटक पनि बलियो उम्मेदवारका रूपमा हेरिएको छ ।

तर कांग्रेसकै पूर्व नेता पुष्करनाथ ओझाको उम्मेदवारी र नागरिक उन्मुक्ति पार्टीका प्रभावशाली नेता लक्ष्मण थारुको समेत उम्मेदवारी पर्दा यसपटक त्यसले कसलाई फाइदा पुर्‍याउँछ भन्न सकिने अवस्था छैन । ओझाले कांग्रेका भोट काट्ने अनुमान छ भने लक्ष्मण थारुले राना चौधरीका भोट कटौती गर्ने अनुमान गर्न सकिन्छ ।

रेशम दम्पती नै संघीय उम्मेदवार

नागरिक उन्मुक्ति पार्टीबाट निवर्तमान संघीय सांसद रेशम चौधरीका श्रीमान श्रीमती नै संघीय सांसदको उम्मेदवार बनेका छन् ।  रेशमले बर्दिया १ मा र उनकी श्रीमती रञ्जना श्रेष्ठ  कैलाली १ मा संघीय सांसदको उम्मेदवारी दर्ता गराएका छन् ।

रन्जनाले आफै निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । तर रेशमले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनले जग्गुप्रसाद चौधरीमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । 

२०७४ को निर्वाचनमा रेशम कैलाली १ बाट भारी मतले संघीय सांसदमा विजयी बनेका थिए । त्यतिखेर पनि रेशमले वारेसनामामार्फत नै उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७२ को टीकापुर घटनामा संलग्न रहेका आरोपमा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि रेशम हाल डिल्लीबजार कारागारमा छन् । जिल्ला र उच्च अदालतको निर्णयविरुद्ध उनी सर्वोच्चमा गएपछि अहिले सर्वोच्चमा मुद्दा विचाराधीन छ ।

दार्चुलामा बहालवाला र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

दार्चुलामा बहालवाल मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवारका रूपमा उद्योग वाणिज्यमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलामा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् ।

एमालेबाट गणेशसिंह ठगुन्नाले उम्मेदवारी दिएका छन् । आइतबार दुवैजनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका छन् । बडू निर्वतमान मन्त्री हुन् भने ठगुन्न पूर्वमन्त्री हुन् ।

बडू २०५६ को निर्वाचनमा दार्चुलाबाट निर्वाचित भएका थिए । त्यसपछि उनी समानुपातिक सूचीमा रहेर सांसद बनेका छन् । यसपटक उनले फेरि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका हुन् ।

ठगुन्ना २०६४ मा पराजित हुँदा २०७० र २०७४ को निर्वाचनमा दार्चुलाबाट निर्वाचित भएका थिए । उनी केपी ओलीको सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसमेत बनेका थिए ।

आगामी निर्वाचका लागि दार्चुलाबाट आठ राजनीतिक दलले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभातर्फ सात राजनीतिक दल र दुईजना स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिएका छन् ।

कैलाली–४ मा ह्याबिवेट नेताको उम्मेदवारी
कैलाली-४ दुई ह्याविवेट नेताको उम्मेदवारी परेको छ । कैलाली–४ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् । 

एमालेबाट लेखराज भट्टले उम्मेदवारी दर्ता गराएका छन् । बलायर २०७० संविधानसभा निर्वाचनमा डोटीबाट निर्वाचित भएर संघीय भौतिकमन्त्री बनेका थिए । २०७४ को निर्वाचनमा भने उनी पराजित भएका थिए । हाल उनी नेपाली कांग्रेसका प्रदेश सभापति रहेका छन् ।

सत्ता गठन्धनबाट डोटीमा एकीकृत समाजवादीसका प्रेम आले उम्मेदवार बन्ने भएपछि बलायर कैलाली ४ बाट संघमा प्रतिस्पर्धा गर्न लागेका हुन् । 

एमालेका सचिव लेखराज भट्ट २०७०को निर्वाचनमा कांग्रेस नेता दीर्घ भाटसँग कैलाली-४ बाटै पराजित भएका थिए । २०६४ र २०७४ निर्वाचनमा ४ नम्बरबाटै उनी निर्वाचनमा विजयी भएका थिए ।

लेखराज भट्ट तत्कालीन नेकपाका तर्फबाट निर्वाचित भएका थिए । नेकपा विभाजनपछि उनी एमालेमा रहे र हाल नेकपा एमालेका केन्द्रीय सचिव छन् । उनी पटक-पटक मन्त्री भइसकेका छन् ।

शेरबहादुर देउवा र कर्ण मल्लको प्रतिस्पर्धा
कांग्रेसबाट लगातार ६ पटक चुनाव जितेर पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले साताैंपटकका लागि आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

विगतमा सहज जीत निकाल्दै केन्द्रमा धाउने गरेका देउवालाई यसपटकको निर्वाचनमा उनले नै राजनीतिमा ल्याएका कांग्रेस बिपीका उपसभापति कर्ण मल्ल चुनौती बन्न सक्ने आंकलन गरिएको छ ।

देउवालाई माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सघाउँदा कर्ण मल्ललाई एमालेले समर्थन दिएको छ । कर्ण मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति पनि हुन् । २०७४ को निर्वाचनमा उनले कांग्रेसबाटै डडेल्धुराबाट प्रदेश सभा निर्वाचन जीतेका थिए । 
यसका साथै प्रधानमन्त्री देउवालाई कडा प्रश्न सोधेर चर्चामा आएका गुल्मीका युवा सागर ढकालले पनि डडेल्धुराबाटै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

आफ्नै सहयोगीसँग भानुभक्त जोशीको प्रतिस्पर्धा

एमालेबाट तीनपटक चुनाव लडेका भानुभक्त जोशी यसपटक एमालेबाटै अलग्गिएर गएको एकीकृत समाजवादीबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । उनले यसअघि तीनपटक बझाङमा एमालेबाट चुनाव प्रतिस्पर्धा गरेका थिए ।  

भानुभक्त जोशी एकीकृत समाजवादीबाट चुनाव लड्दा एमालेबाट भने युवा नेता ऐन महरले मौका पाएका छन् । विद्यार्थीबाट राजनीतिमा आएका ऐन महर पहिलाेपटक आमनिर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । 

ऐन महर जोशीले उत्पादन गरेका कार्यकर्ता हुन् । २०६४ को निर्वाचनमा बझाङबाट विजयी भएपछि भानुभक्त जोशीले ऐन महरलाई सहयोगीका रूपमा नियुक्त गरेका थिए । दुवै नेता एउटै पदका लागि प्रतिस्पर्धामा उत्रेपछि बझाङमा राजनीतिक गुरु र चेलाबीच प्रतिष्पर्धा हुने भएको छ ।

भानु जोशी २०४८ को निर्वाचनमा पहिलोपटक एमालेबाट विजयी भएका थिए । त्यसपछि २०५४ को निर्वाचनमा उनी पराजित भए । २०६४ को निर्वाचनमा उनले फेरि एमालेबाटै टिकट पाए । सो निर्वाचनमा देशभरबाट एमालेका दिग्गज नेता पराजय हुँदा जोशी बझाङबाट निर्वाचित भएका थिए ।

जोशी सत्तारुढ पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुन् । ऐन महर भने आमनिर्वाचनमा पहिलोपटक चुनाव लड्दै छन् । एमालेको भ्रातृसंगठन अनेरास्ववियुको अध्यक्ष भइसकेका ऐन महरलाई बझाङमा राप्रपाले सहयोग गरेको छ।

प्रदेशतर्फ बझाङ प्रदेशसभा क मा एमालेबाट छविलाल ओखेडा तथा गठबन्धनबाट कांग्रेसका पृथ्बीबहादुर सिंह र प्रदेश ख तर्फ एमालेका एलबी रावल र गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारीबीच प्रतिस्पर्धा हुनेछ ।

आइतबार भएको उम्मेदवारी दर्ताअनुसार डोडीमा ६, बैतडीमा १२, बाजुरामा ५, दार्चुलामा ९, कञ्चनपुरमा ३१, बझाङमा ९, अछाममा १२, कैलालीमा ४९ र डडेल्धुरामा १० जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।